Khabar Ujyalo

अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ

१७ आश्विन २०८३, शनिबार
अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण, तीन जना पक्राउ

धनगढी : कैलालीमा चोरी–तस्करी नियन्त्रणमा खटिएका नेपाल प्रहरीमाथि आक्रमण गरेर तस्करीको सामान भित्र्याइएको छ।

बिहीबार दिउँसो भजनी नगरपालिका–३ स्थित ठेकीपुरचोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि आक्रमण भएको हो।

आक्रमणमा प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार चौधरीको हात र जोशीको अनुहारमा चोट लागेको छ। दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रहरीमाथि आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउँद र गम्भीर साउँद रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका लोकबहादुरलाई घटनाको मुख्य अभियुक्तका रूपमा लिइएको छ। स्रोतका अनुसार लोकबहादुर सो क्षेत्रका ठूला तस्करमध्येका एक हुन्।

तस्करीमा प्रयोग भएका से ४ प ११७१ र सुदूरपश्चिम प्रदेश ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा ल्याइरहेको सामान नियन्त्रणमा लिन खोज्दा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरिएको थियो। आक्रमणको मौका छोपेर तस्करीको सामान भने उनीहरूले भित्र्याउन सफल भएका छन्।

घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ। फरार व्यक्तिको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको डीएसपी तिमिल्सिनाले बताए।

 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.