काठमाडौ : विराटनगरमा तास खेलिरहेको अवस्थामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मङ्गलबार बिहान नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीको पक्राउबाट जोगिन खोज्दा घरको दुई तला माथिबाट हामफाल्दा अर्का एक जना घाइते भएका छन्।
विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेपछि मानिसहरू भागदौड गर्न थालेका थिए।
सोही क्रममा दुई तला माथिबाट हामफाल्दा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको छ।
एम्बुलेन्स चालकसमेत रहेका मुखियाको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट कोइराला र मुखियासहित आठ जनालाई नगद ४८ हजार ३ सय ९५ रुपैयाँ र ताससहित सोमबार राति पक्राउ गरेको थियो।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो।

