KhabarUjyalo

भारतलाई नेपालले बेच्यो ८ अर्बको बिजुली

२६ आश्विन २०७९, बुधबार
भारतलाई नेपालले बेच्यो ८ अर्बको बिजुली

काठमाडौं । नेपालबाट भारतर्फ हुने विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् जेठ १९ बाट बिक्री सुरु गरेको थियो । इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत नेपालको विद्युत् बिक्री गरेको हो ।

असोज २५ सम्ममा १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो,’ उनले भने । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ । सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा आईएक्समा बिक्री गरिएको थियो ।

त्यसपछि जेठ २७ बाट ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु अर्थात् ७ अर्ब ९३ करोड रुपैयाँबराबरको भारतीय मुद्रा नेपाल भित्रिएको छ ।

यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ।

प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसा रहेको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo