
धनगढी : सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार रहेको नागरिक उन्मुक्ति पार्टीले संकेत गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार बन्न नसक्ने अवस्थामा स्वतन्त्र सांसद डा. जोशीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार रहेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता घनश्याम चौधरी बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा सरकार निर्माणमा नागरिक उन्मुक्ति निर्णायक रहेको छ, नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकारको बन्न नसक्ने अवस्थामा स्वतन्त्र सांसद डा. तारा जोशीलाई मुख्यमन्त्री मान्ने विकल्प समेत रहेको छ, संसदीय दलका नेता घनश्याम चौधरीले भने ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेकी छन्।
अध्यक्ष श्रेष्ठले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्विप जारी गरेकी छन् भने सुदूरपश्चिम प्रदेशका प्रदेश सभाका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्री शाहको पक्षको मतदान गर्न ह्विप जारी गरेका छन्।
नाउपा भित्रको विवादले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउनेमा शंका कायमै भएको छ।
भोलि बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन गइरहेका छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य छन्। नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन्।
सरकार गठनका लागि २७ जना सांसद आवश्यक हुन्छन्। माओवादी केन्द्र र एमालेको सांसद संख्या २० जना मात्र हुन्छ। एमालेसहितको सरकारका लागि नागरिक उन्मुक्ति अनिवार्य हुन्छ।
कांग्रेस नेतृत्वको सरकारका लागि नाउपा, राप्रपा र स्वतन्त्र सांसदको आवश्यक पर्दछ ।
