KhabarUjyalo

सुदूरपश्चिममा गड्यौले मल उत्पादनमा कृषकको आकर्षक बढ्दै,बालिनालीका लागि बहुप्रभावकारी !

५ श्रावण २०७८, मंगलवार
सुदूरपश्चिममा गड्यौले मल उत्पादनमा कृषकको आकर्षक बढ्दै,बालिनालीका लागि बहुप्रभावकारी !

धनगढी : प्राङ्गारिक फोहरलाई (सागसब्जी, घाँसपात,फलपूल आदिका फोहोर) बिशेष खालको गड्यौलाले खाएर पचाएर बिष्टाको रुपमा फाल्ने कालो स–साना पोतेको दाना जस्तो ”काष्ट” र यससंग गलेर सडेर बनेको कम्पोष्ट मलको समिश्रण नै गड्यौले मल भनिन्छ । गडयौलाप्रयोग गरी बनाईएको कम्पोष्ट मललाई गडयौलीमल वा गडयौली कम्पोष्ट मल अथवा भर्मिकम्पोष्ट भनिन्छ ।

सुदूरपश्चिम प्रदेशमा गड्यौले मल उत्पादनमा कृषकको आकर्षक बढेको छ । रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्ति घटाउदै गएको छ भने अर्को तिर खेतिपातीमा रासायनिक मलको प्रयोगबाट उत्पादन गरेका बालिनालीले स्वास्थ्यमा समस्या गर्ने गरेको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलाली,कंचनपुर र डडेल्धुरा जिल्लामा बढी रासायनिक मलको प्रयोग बढेको छ । यी ३ जिल्लामा माटोको उर्वर शक्ति पनि घट्दै गएको छ । तत्काल रासायनिक मलको प्रयोगले बालिनालीको उत्पादन देखिए पनि माटोको उर्वर शक्ति भने घट्दै गएको छ । माटोको उर्वर शक्तीलाई गतिशील राख्न कृषि बिकास निर्देशनालय दिपायलले “गड्यौला मल उत्पादन सहयोग कार्यक्रम” ल्याएको छ । उक्त कार्यक्रममा ६ वटा जिल्लाका ४५ कृषकलाई सो कार्यक्रम लागू गरिएको छ ।

कृषि विकास निर्देशनालयको आ.व. २०७७÷७८ को “गड्यौला मल उत्पादन सहयोग कार्यक्रम” अन्तर्गत यस सुदुरपश्चिम प्रदेशका ६ वटा जिल्लाहरुका जम्मा ४५ कृषक लाभाम्वित भएका छन् । वि.स. २०७७ साल कात्र्तिक महिनाको सूचना अनुसार ५५ वटा निवेदन प्राप्त मध्ये ४८ संग सम्भौता गरिएको छ भने ती ४८ मध्ये ४५ ले काम सम्पन्न गरेका छन् जसमा कैलालीका ११, कन्चनपुरका १ , डोटीका ७, डडेल्धुराका २३, बझाङका १ र बाजुराका २ जना कृषक छन् । “सुदुरपश्चिम प्रदेश—एकिकृत कृषि विकास कार्यक्रम” अन्तर्गत कृषकहरुको कृयाकलापहरुलाई मूल्याङ्कन गरि बढीमा ८५ प्रतिशत सम्म अनुदान रकम दिनेगरी सम्भौता गरिएको कृषि बिकास निर्देशनालय दिपायलका बाली बिकास अधिकृत सुमन भट्टराईले बताए ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको माटोको उर्वरा शक्ति दिनप्रतिदिन घट्दै गईरहेको क्षेत्रीय कृषि  बिकास निर्देशनालय दिपायलका प्रमुख यज्ञ राज जोशीले बताए । ९ वटै जिल्लाको माटो परिक्षण गर्दा माटोको उर्वरा शक्ति घट्दै गएको र रासायनिक मलको भरमा मात्रै उत्पादन भईरहेको उनले बताए । प्रदेशमा माटोमा प्राङ्गारिक पदार्थको मात्रा अहिले ८२ प्रतिशतले ह्रास रहेको छ । प्राङ्गारिक मलले माटोलाई हावाको सन्चार बढाउने र आवश्यक पानीलाई संचय गरेर बिरुवाको जरालाई पठाउने गर्ने गरेको हुन्छ भने युरिया,पोटासियमले माटोको कमिकल र भौतिक आकारलाई बिकार्ने गर्ने गर्दछ । रासायनिक मलले तत्कालको बालिनालिलाई केही हद राम्रो भए पनि कालान्तरमा माटोको उर्वरा शक्ती न्यून हुने जोशीले बताए । यस क्षेत्रमा माटोको उर्वरा शक्ति बढाएर बालीनाली उत्पादन बढाउन कृषि बिकास निर्देशनालय दिपायलले गड्यौला मल उत्पादन सहयोग कार्यक्रम ल्याएको बताए ।  पहिलो चरणमा सो कार्यक्रममा कृषकको उत्साह सहभागीता रहेको र यस कार्यक्रमलाई आगामी बर्ष थप बिस्तार गरिने कृषि बिकास निर्देशनालय दिपायलका प्रमुख जोशिले बताए ।

गड्यौला विभिन्न प्रजातिका रहेपनि गड्यौलाहरुलाई एण्डोजेईक र इपिजेइक भागमा विभाजन गरेको छ ।

एण्डोजेईकः यस प्रजातीका गँड्यौलाहरु जमिनको भित्रि भागमा पाईन्छ र माटो मात्र खाने गर्दछ । यि प्रजाती गँड्यौला मल बनाउन प्रयोग हुँदैन ।

इपिजेइकः यस प्रजातीका गँड्यौला जमिनको सतहमा वस्छन् र जैविक पदार्थ मात्र खान्छन् । तसर्थ गँड्यौला मलको लागि यही प्रजातीको गँड्यौला प्रयोग गरिन्छ । हाल भर्मि कल्चरको लागि प्रयोग हुने गँड्गौलाहरु इस्निया फोइटिड, युड्रिलस युजिनियल, पेरियोटक्स एक्स्याभेट, लुव्रिकस रेवेलस र ल्यामपिटो म्याउरिटी रहेका छन् ।यो मलमा भएका खाद्यतत्वहरू पानीमा घुलनशील हुन्छन् र बिरुवाले यसमा भएका खाद्यतत्वहरूलाई सजिलैसँग लिन सक्दछ ।यि गड्यौलाले माटोमा छिद्रको संख्या बढाउने काम गर्दछन् । हावाको संचार बढाउन्छ । यो मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकोले अरू मलभन्दा यो मलको गुणस्तर राम्रो मानिन्छ, बाली बिरुवाको बृद्धी बिकास पनि छिटो हुने गर्दछ । गँड्यौला कम्पोष्टको कार्बनः नाईट्रोजन अनुपात परम्परागत गोठेमल वा कम्पोष्टकोभन्दा कम हुन्छ र यसमा भएको नाईट्रोजन बिरुवालाई तुरुन्तै उपलब्ध हुन्छ । खेती र घरेलु फोहर वस्तुहरुबाट यो मल बनाईने हुदाँ वातावरणलाई स्वस्छ राख्न मद्धत पुग्दछ । गड्यौला बढी उत्पादन भएमा हासँ,माछा, कुखुरा आदिको आहारा बनाउन सकिन्छ । भने यस गड्यौलाबाट उत्पादन मल पनि कुखुरा,हासँ र माछाको आहारको लागि प्रयोग गरिन्छ । १००० वटा गड्यौलाले एक हप्तामा ४५ कि.ग्रा. भिजेको कुहिने वस्तुलाई २५ कि.ग्रा. गड्यौली मलमा रुपान्तरण गर्दछन l गड्यौली मलमा सामान्य माटोमा पाइने नाइट्रोजन भन्दा ५ गुणा, फस्फोरस भन्दा ७ गुणा र पोटास भन्दा ११ गुणा बढि मात्रामा पाइन्छन l भर्मीकम्पोष्टिङ्ग गर्दा फोहरमा भएको पौष्टिक तत्व ५–१० % मात्र गड्यौलाले लिन्छ बाँकि गड्यौले मल संग निस्कन्छ । तसर्थ, मलमा ९०–९५% खाद्यतत्वले भरिपूर्ण हुन्छ । साथै मलसित एक प्रकारको चिल्लो म्यूकस पनि निस्कन्छ जसमा असंख्य लाभदायिक सूक्ष्म जिवाणु हुन्छ । यस्ता छन् गड्यौले मलका गुणहरु :

भौतिक गुण
गड्यौले मलदानेदार (दानादार चियापत्ति जस्तो) कालो रंगको नरम हुन्छ । यो मलगन्ध रहित हुन्छ । गड्यौले मलमा भएको म्यूकसले माटोमा हावाको आगमन र पानी सोस्ने शक्ति बढाइदिन्छ । कडा खालको माटोलाई हलुका बनाई हावाको आगमनमा सहयोग गर्दछ । तयारी गड्यौले मलको ओसिलोपना २०–३०% हुन्छ । यसले माटोमा सुक्ष्म जिवाणुको गतिविधि बढाई बोटविरुवालाई आवश्यक खाद्यतत्व लिन सहयोग गर्दछ ।
रासायनिक गुण
यसमा बोटविरुवाको लागि आवश्यक पर्ने विभित्र खाद्यतत्वहरु पाईन्छ । नाईट्रोजन: १.७५–२.५०%, फोस्फरस : १.५०–२.००%, पोटासियम: १.२५–१.७५%, पी.एच: ७.०–७.५, क्याल्सियम, म्याग्नेसियम र गन्धक: ३–५%, फलाम, म्यान्गनिज, ताँवा र जस्ता :२००–७०० पि.पि.एम. मेलिवडेनम र सुहाग पर्याप्त मात्रामा घुलनशील अवस्थामाउपलब्ध हुन्छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo