KhabarUjyalo

महिला र पुरुष समान हुन् भनेर भनिरहदा महिला आरक्षण किन ?

३० फाल्गुन २०७८, सोमबार
महिला र पुरुष समान हुन् भनेर भनिरहदा महिला आरक्षण किन ?

प्राय सबै सार्वजनिक बसहरुमा महिला सिट भनेर महिलाको लागि आरक्षणको व्यवस्था गरिएको हुन्छ । जसले गर्दा महिलालाई यात्रा गर्न सहज हुने गरेको छ । यो आरक्षणले केही हद सम्म महिलालाई सुरक्षा पनि दिएको छ । जसका कारण महिलाहरुले टाढाको यात्रा गरेर भए पनि आफ्नो काम गर्र्नेे हौसला पाएका छन् । तर धेरैले महिला सिट महिला भएर जन्मेकै कारण मात्रै पाएको भन्ने गरेका छन् । महिला र पुरुष समान हुन् भनेर भनिरहदा महिला आरक्षण किन ? भन्ने प्रश्न गर्नेहरुको जमात पनि त्यति नै छ । बेलाबखतमा आउने गरेका यस्ता प्रश्नले महिलालाई के महिला भएकै कारण मात्रै महिला सिटको व्यवस्था गरिएको हो त भनेर सोच्न बाध्य पार्छ ।
हामी महिलाले सार्वजनिक बसहरुमा आरक्षण पाउनुको मुख्य कारण हामी महिला भएर जन्मिनु मात्रै नभएर नया जिवन जन्माउन सक्नु पनि हो । पुरुषको तुलनामा महिला शारिरिक रुपले केही कमजोर हुने गर्दछन् । यो बाहेक हरेक महिनामा हुने महिनावारीले थप कमजोरीपना हुने गर्दछ । महिनावारीको समयमा महिलाले आन्तरिक शारिरिक पिडा भोग्नु परेको हुन्छ । आन्तरिक शारिरिक पिडामा बाहिरबाट हुने असहजताले झन् गाह्रो गरिरकेको हुन्छ । हरेक महिना महिनावारीको समयमा भोगिरहेको पिडाको बारेमा बयान गर्न सकिदैन । यो समयमा पेट दुख्ने, हात खुट्टा दुख्ने, कमजोरी महसुस हुने, वान्ता आदि हुने गर्दछ । त्यसैले यस्तो अवस्थामा पनि महिलाले घर भन्दा बाहिर गएर काम गर्ने बेला केही सहजता होस् भनेर महिला सिटको व्यवस्था गरिएको हो ।
तर यति कारण मात्रै भएको भए पनि सायद महिला सिटको आवश्यकता पर्दैन थियो होला । शारिरिक पिडा एकातिर, दिनभरि गरिएको काम अनि अर्काेतिर बसमा झुन्डिएर गरेको यात्राको थकान लिएर घर पुग्दा आराम समेत गर्न पाइदैन । घर पुग्ना साथ महिलाले घरको सबै काम भ्याउनै पर्छ । विहानै उठेर झाडुपोछा गेरर, सबैको लागि खाना पकाएर, छोराछारीलाई टिफिन बनाएर, श्रिमानलाई अफिस र छोराछोरीलाई स्कुल पढाएर, घरमा भएका परिवारको लागि थप नास्ताको व्यवस्था गरेर घरबाट निस्केकी महिलाले साझ घर पुग्दा फेरी त्यही काम दोहोराउनु पर्ने हुन्छ । विहान देखि साझ सम्म काम गरेर घर पुगेकी महिलाले आज म थाकेकी छु भन्न पनि मिल्दैन । हामी यहि संस्कारमा हुर्केका छौ । जहा महिलाले जति पिडा भएपनि मुस्कुराएर परिवारको सेवा गर्नुपर्छ भन्ने सिकाइएको छ ।
महिलाले भोग्दै गरेको शारिरिक दुख त छदैछ ,यसैमा अझ मानसिक रुपमा पनि समस्या भोग्दै आइरहेका छन् । महिनावारिको समयमा हुने शारिरिक पिडाका कारण मानसिकरुपले पनि महिलाहरु विचल्लित हुने गर्दछन् । बस जस्ता सार्वजनिक यातायातहरुमा हुन दूव्र्यवहारका कारण महिलामा खिन्नता हुने गर्दछ । जसले उनीहरुले आफ्नो प्रगतिका पाइला चाल्न सक्दैनन् । शारिरिक पिडा भन्दा मानसिक पिडाले धेरै नकारात्मक असर गरेको हुन्छ । छोरीले उज्यालो मै घर पुग्नु पर्छ, महिलाले घर भन्दा बारिर गएर काम गर्नू हदैन, महिलाको संसार भनेको उस्को परिवार हो, महिलाले परिवारलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने जस्ता मानसिक दबाबले महिलाहरुलाई परिबन्धमा पारेको पाइन्छ ।

शारिरिक पिडा, मानसिक दबाबलाई सहेरै भए पनि महिलाले आफ्नो हरेक कर्तव्य पुरा गरेकी हुन्छिन् । महिलाले आफ्नो जिम्मेवारीहरु पुरा गर्दै आफ्ना सपनाहरु पनि पुरा गर्न भ्याएका उदाहरणहरु धेरै छन् । अहिले देशका विभिन्न ठुला पदहरुमा महिला पुगेका छन् र उनीहरुले आफ्नो परिवारलाई पनि त्यतिकै महत्वका साथ सम्हालेको देखिन्छ । आर्थिक क्षेत्र, नितिनियम निमार्ण, सुरक्षा क्षेत्र, व्यवसायीक क्षेत्र, मनोरञ्जनका क्षेत्र लगायतका ठाउमा महिलाहरुले उल्लेखनिय उपलव्धि हासिल गर्न सफल भएका छन् । समाजले बनाएको परिधिमा बसेर भए पनि महिलाले आफ्नो लागि काम गरिरहदा व्यक्तिगत मात्र नभएर पुरै परिवारलाई नै गर्भान्वित बनाइरहेका छन् । त्यसैले महिलालाई सम्मानका साथ सहजताका लागि महिला सिटको व्यवस्था गरिएको हो ।
महिला सिट देखेरै तर्सिन्छन् पुरुष
टिचिङ हस्पिटलबाट अनामनगर आउने क्रममा चार वटा महिला सिटहरु खालि थिए । तर तिन जना पुरुषहरु झुण्डीएरै यात्रा गरिरहेका थिए । मैले उभिरहेका मध्य एक व्यक्तिलाई सिट खालि छ बस्नुस् भने । “त्यो महिला सिट हो, नबस्ने” भन्ने जवाफा आयो । सार्वजनिक बसहरुमा महिला सिट खालि देख्योकी पुरुषहरु तर्सिने गर्दछन् । खाली रहेका उक्त सिटमा महिलाले मात्रै बस्नु पर्ने नियम जस्तै बनेको देखिन्छ । बुढा आमाबुबा आउदा सिट नछोड्ने अनि खालि भएको समयमा समेट महिला सिटमा नबस्ने पुरुषको सोच मैले बुझ्न सकिन । यसरी महिला सिट भएकै कारण उक्त सिट खाली रहनुले महिला पुरुष विच विभेदको खाल्टो झन् ठुलो भएको त छैन ?
साझको समय कोटेश्वरबाट इमाडोल जाने क्रममा एक पुरुष काखमा सानो छोरा लिएर बसमा चढ्नु् भयो । एउटा महिला सिट मात्रै खालि थियो र उहाले आफ्नो छोरालाई काखमा राखेर बस्नु भयो । खलासिले “त्यो महिला सिट हो, महिला आए छोड्नु पर्छ” भने । त्यस पछि बसमा धैरै महिलाहरु चढे । तर कसैले पनि त्यो महिला सिट हो, महिलाले नै बस्नुपर्छ भनेनन् । सभ्यताको उच्चतम उदाहरण यही हो । हामीले चाहेको समाज अहि हो । ति पुरुषलाई महिला सिटमा बस्न दिइयो, कारण एउटै थियो,त्याहा बसीरहेका पुरुषले जिम्मेवारी सम्हालेका थिए । साथमा रहेको छोरालाई उभिएर बोक्नु पर्दा उनलाई साच्चिकै कष्ट हुने थियो । यो कुरा त्यहा उभिएका सबै महिलाले बुझेका थिए । त्यसैले जिम्मेवार बनेका महिला र पुरुष जो भए पनि त्यो काम अनुसारको सम्मान र साथ पाउनु पर्छ ।

सिर्जना स्नेही

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo