धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ७१ औं प्रजातन्त्र दिवस मनाएको छ । शुक्रबार बाजागाजासहितकाे प्रभातफेरिपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवसमा प्रदेश सरकारले प्रगति विवरण पनि सार्वजनिक गरिएको हो ।
प्रदेश प्रमुख सर्मिला पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा प्रदेश सरकारको प्रगति विवरण समेटिएको पुस्तक लोकार्पण गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकार गठनको तीन वर्ष, प्रमुख उपलब्धिहरु नाम दिइएको सो पुस्तकमा प्रदेश सरकारका सातवटै मन्त्रालयहरुले तीन वर्षमा गरेका कामहरुको विवरण समावेश गरिएको छ । साथै प्रदेश सरकारले तीन वर्षमा ल्याएका बजेट र त्यसको कार्यान्वयनको स्थिति पनि उल्लेख गरिएको छ ।
सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तीन वर्षमा थुप्रै कामको थालनी गरेको भएपनि त्यसको परिणाम आउन समय लाग्ने बताए । उनले देशमा ढिलासुस्ती गर्ने प्रवृत्ति पहिलेदेखि नै रहेको हुनाले प्रदेश सरकार त्यसलाई चिर्दै अगाडि बढ्दा निकै कठिनाई भएको बताए ।उनले प्रदेश सरकार हरेक तरिकाले प्रदेशवासीलाई छिटो सुविधा पु¥याउन चाहेको बताए ।
कार्यक्रमलाई आन्तरिक मामला तथा कानून मन्त्री तथा सरकारका प्रबक्ता प्रकाश शाहले पनि सम्बाेधन गरेका थिए ।