KhabarUjyalo

कञ्चनपुरको कृष्णपुर–४ मा खानेपानी संकट, दुई वर्षअघि बनेको ट्याङ्की अझै सञ्चालनमा आएन !

१२ असार २०८३, शुक्रबार
कञ्चनपुरको कृष्णपुर–४ मा खानेपानी संकट, दुई वर्षअघि बनेको ट्याङ्की अझै सञ्चालनमा आएन !

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का बासिन्दा यतिबेला चर्को खानेपानी संकटको सामना गर्न बाध्य भएका छन्।
लामो समयदेखि वर्षा नहुनु, अत्यधिक गर्मी बढ्नु तथा भूमिगत जलस्रोत सुक्दै जानुका कारण टोलका अधिकांश नल्का, मोटर र बोरिङबाट पानी आउन छाडेको स्थानीयले बताएका छन्। जसका कारण दैनिक उपभोगका लागि समेत पानीको अभाव हुन थालेको उनीहरूको गुनासो छ।

स्थानीय निर्मल ओझाका अनुसार कृष्णपुर–४ मा करिब दुई वर्षअघि खानेपानी ट्याङ्की निर्माण गरिए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन। एकातिर निर्माण सम्पन्न भएको ट्याङ्की उपयोगमा नआउनु र अर्कोतर्फ गर्मीयाममा नल्का तथा बोरिङ सुकेपछि स्थानीयवासी थप समस्यामा परेको बताए।

यता कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले वडा नम्बर ४ मा देखिएको खानेपानी संकटलाई मध्यनजर गर्दै तत्काल ट्यान्करमार्फत पानी वितरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। साथै दीर्घकालीन समाधानका लागि निर्माण सम्पन्न भएको खानेपानी सञ्चालनमा ल्याउन २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए।

जलस्रोत विज्ञहरूका अनुसार चुरे क्षेत्रको अत्यधिक दोहन, लामो समयदेखि पर्याप्त वर्षा नहुनु तथा भूमिगत जल पुनर्भरण हुन नसक्दा भूमिगत पानीको सतह घट्दै गएको छ। यसका कारण विभिन्न स्थानका हातेकल, नल्का र बोरिङमा पानी आउन छाडेको र खानेपानीको समस्या थप जटिल बन्दै गएको उनीहरूको भनाइ छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo