धनगढी : अछामको ढकारी गाउँपालिकाले शनिबार बिदा नदिने निर्णय गरेको छ। गाउँपालिकाले कार्यपालिकामार्फत निर्णय गरेर अबदेखि शनिबार बिदा नदिने निर्णय गरेको हो । तर, आइतबार भने तोकिएबमोजिम नै बिदा रहनेछ।
प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा आइतबार र शनिबार दुई दिन सार्वजनिक बिदा दिँदा सेवा प्रवाह र शैक्षिक पठनपाठनमा समस्या आएको भन्दै आइतबारको बिदा यथावत् राखेर शनिबारको बिदा कटौती गरिएको उल्लेख छ।
३१ जेठको कार्यपालिका बैठकको निर्णयबमोजिम असार १ गतेदेखि नै उक्त निर्णय लागू गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले बताए। उनका अनुसार सोमबारदेखि शुक्रबारसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्नेछन् भने शनिबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ।
त्यस्तै, सामुदायिक र संस्थागत विद्यालयको हकमा सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय लागू गरिएको छ। यसले सरकारी सेवा र विद्यालयको पठनपाठनमा सहजता ल्याउने अध्यक्ष साउदले बताए।
यसअघि नेपाल सरकारले गत चैत २३ गतेदेखि आइतबार र शनिबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। जसमा कार्यालयको हकमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र विद्यालयको हकमा १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्नुपर्ने नियम लागू गरिएको थियो।
