एजेन्सी : अमेरिकाको टेक्सस राज्यमा अभूतपूर्व रूपमा बिजुलीको संकट आएको छ ।
भीषण जाडो र हिमपातका बीच बिजुली नहुँदा सर्वसाधारणको बिजोक भएको छ ।
यसैबीच अर्बपति इलोन मस्कले आफूलाई न्यानो राख्नका लागि बहुचर्चित विद्युतीय कारमा रात बिताउनुपरेको छ । त्यसपछि उनी राज्यको विद्युत् आपूर्ति गर्ने ग्रिड अपरेटरमाथि आक्रोशित भएका छन् ।
विगत चार दिनदेखि बिजुलीको संकट भएपछि राज्यका ३० लाख मानिस प्रभावित भएका छन् भने २१ जनाको मृत्यु भइसकेको छ ।
टेक्सस राज्यमा तापक्रम माइनसमा पुगेको छ जसले गर्दा विद्युत् कम्पनी एर्कोटले बिजुली निकाल्नै सकेन ।
विद्युत् कटौतीको असर अन्तरिक्षबाट पनि देखिएको छ । भूउपग्रहीय तस्वीरहरू हेर्दा ब्ल्याकआउट ठूलो क्षेत्रफलमा भएको देखिन्छ ।
मौसम विभागले थप हिमपात हुने चेतावनी दिएको छ । त्यसले बिजुली संकट थप गहिरो बनाउनेछ ।
इलोन मस्कले आफ्नो कारलाई क्याम्प मोडमा राखेर सुत्नुपरेको छ । त्यस मोडमा गाडी पार्क गर्दा लामो समयसम्म तापक्रममा परिवर्तन गराउने सुविधा हुन्छ ।
टेक्ससका एक बासिन्दाले लेखे, ‘विगत ६ घन्टादेखि बिजुली छैन । हाम्रो घरमा ग्यास पनि छैन । दाउरा सकिन लागेको छ । अब के गर्ने होला ?’