काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारले कात्तिक १७ गतेअघि आमसभा गरे उम्मेदवारी खारेज हुने निर्वाचन आयोगले चेतावनी दिएको छ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कात्तिक १८ गतेपछि मात्र आमसभा गर्न पाइने तर, १७ गतेअघि आमसभा गरेमा उम्मेदवारी खारेज हुने बताए । उनका अनुसार अहिलेको अवस्थामा २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलो कार्यक्रम गर्न पाइन्छ ।
तर, अहिले राजनीतिक दलहरुले घरदैलो कार्यक्रम गर्ने क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको थुप्रै उजुरी आइरहेको पनि आयुक्त भण्डारीले जानकारी दिए । उनका अनुसार आयोगमा परेका उजुरीको अनुसन्धान सुक्ष्म रुपमा भइरहेको र कठोर भएर कारबाही गरिन्छ ।
उजुरीहरु स्थानीयस्तरका निर्वाचन अधिकृतहरूबाट कारबाही भयो भने ठीकै छ । यदि त्यहाँबाट पनि कारबाही भएन भने आयोगले कठोर भएर कारबाही गर्नेछ ।

