Khabar Ujyalo

सुदूरपश्चिम सरकारले मध्यरातमा ल्यायो ३७ अर्ब ७० करोडको बजेट

२ असार २०८३, मंगलवार
सुदूरपश्चिम सरकारले मध्यरातमा ल्यायो ३७ अर्ब ७० करोडको बजेट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले मध्यरातमा प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

प्रदेशसभाको बैठक निकै ढिलो गरी सुरु भएको थियो। तर प्रतिपक्षी दलले सत्ता पक्षको रवैयाको विरोध गर्दै मध्यरातको बैठक बहिस्कार गर्‍यो।  प्रतिपक्षको बहिस्कारका बाबजुद सभामुखले बैठक अगाडि बढाएका थिए। त्यसलगत्तै मन्त्री धामीले बजेट प्रस्तुत गरेका थिए।

उनले कृषि र पर्यटनसँगै पूर्वाधार विकासमा जोड दिएर बजेट ल्याएको बताएका छन्। बजेटमा उनले कर्मचारीको तलब भत्ता १० प्रतिशत बढाएको घोषणा गरे। सत्तारुढ दलहरूबीचको विवाद समाधानपछि मध्यराति बजेट प्रस्तुत भएको हो। बजेटमा उनले मन्त्रालयगत विवरणसमेत प्रस्तुत गरेका छैनन्।

बजेटको खर्च व्यहोर्ने स्रोततर्फ उनले आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड तथा नेपाल सरकारबाट राजस्व बाँडफाँट भइ प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रहेको उनले बताए।

त्यस्तै, संघीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने ७ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने ९ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने ६ अर्ब ३ करोड ५८ लाख, समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको धामीले जानकारी दिए।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.