काभ्रे । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुँमागाईं सहित ३ सय बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले हुँमागाईंसहितका नेताहरूलाई कांग्रेसमा स्वागत गरेका छन् ।
कांग्रेस प्रवेश गरेका हुँमागाईं काभ्रे एमालेको क्षेत्र नम्बर २ का पूर्व अध्यक्ष हुन् । उनीसँगै तत्कालीन काभ्रे गाविसका अध्यक्ष साधुराम बडाल तथा उपाध्यक्ष कृष्णबहादुर बस्नेत, धुलिखेल नगरपालिकाका पूर्व वडा अध्यक्षद्वय निराजन जंगम र दामोदर तिमिल्सिना पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसले एमालेका ३ सय बढी कार्यकर्ता पार्टी प्रवेश गरेको दाबी गरेको छ । उनीहरूमध्ये अधिकांश एमाले नेता गोकुल बाँस्कोटाले प्रतिनिधित्व गर्ने क्षेत्रका रहेका छन् ।
चार दशकदेखि एमालेमा सक्रिय हुँमागाईंले मदन भण्डारीको विचारबाट विचलित भइसकेकाले एमाले त्यागेको बताए । उनले लोकतान्त्रिक चरित्रका कारण आफू एमाले छाडेर कांग्रेसमा प्रवेश गरेको बताए ।

