काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन् । लोकतान्त्रिक समाजवादीका नेताहरूलाई पनि गठबन्धनमा ल्याएर सरकारमा सहभागी गराउन देउवाले छलफल गरिरहेका छन् । लोकतान्त्रिक समाजवादीका अतिरिक्त अन्य केही मन्त्रीहरूको पोर्टफोलियो परिवर्तन गर्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
अर्थतन्त्रबारे ज्ञान नभएको र प्रशासनमा ‘बुलडोज’ गरेको भन्दै देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई हटाउने र त्यसको सट्टामा माओवादीलाई परराष्ट्र मन्त्रालय वा सञ्चार मन्त्रालय दिने तयारी गरेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आफू अर्थमन्त्री भएर अनुभव हासिल गरिसकेको र बजेट ल्याउन नपाएकाले अर्थमन्त्रीको जिम्मेवारी दिए चुनावी बजेटको तयारीमा लाग्ने प्रधानमन्त्रीलाई बताएका छन् ।
परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालय साटिने भएकाले डा. नारायण खड्कालाई नै अर्थतिर सार्ने चर्चा पनि त्यत्तिकै छ ।

