डडेल्धुरा : स्थानीय तहको निर्वाचनका समय नजिकिएसङ्गै राजनैतिक दलको चहलपहल बढेको छ । स्थानीय तहमा पार्टी भित्रै कसले टिकट पाउने बिषयमा स्थानीय नेताहरु पार्टीका मुख्य नेतासँग भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् ।
कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह पालिकामा गन्यापधुरा गाउँपालिकाको प्रमुखका लागि कांग्रेस पार्टीका आकांक्षिहरु टिकटका लागि जिल्ला देखि केन्द्रसम्म दौडधुप ब्यस्त छन् ।
पार्टी सभापति देउवाको समेत गृह पालिकाका भएका कारण गन्यापधुरा गाउँपालिका प्रमुखमा कांग्रेसबाट को उम्मेदवारी बन्ला भनेर धेरै चासोले हेरिएको छ । अहिले गाउँपालिका प्रमुखको आकांक्षिहरुमा वर्तमान गाउँपालिका प्रमुख नवल मल्ल, गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष इन्द्र कार्की र काङ्ग्रेस स्थानीय नेता सुरेन्द्र माली रहेका छन् ।
गाउँपालिकाको आकांक्षीमा रहेका नवल मल्ल पहिलो कार्यकालमा गाउँपालिकामा राम्रो काम गरेकाले अर्को कार्यकालका लागि पार्टीको उम्मेदवारी बनेर गाउँपालिका प्रमुखको उम्मेद्बारी बन्ने तयारीमा रहेका छन् । मल्ल काङ्ग्रेसको भातृ संगठन नेपाल निजामती युनियनको नेता हुदै २०७४ सालमा पहिलो स्थानीय निर्वाचनमा काङ्ग्रेस पार्टीबाट गन्यापधुरा गाउँपालिकाको प्रमुखमा बिजय भएका थिए ।
यस्तै पहिलो स्थानीय निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित गन्यापधुरा गाउँपालीका २ का वडाध्यक्ष तथा युवा नेता इन्द्र कार्की गाउँपालिका प्रमुखको लाइनमा रहेका छन् । जिल्ला र गाउँपालिकामा भएको काङ्ग्रेसको आन्तरिक मतभेदलाई मिलाएर आगामी गाउँपालिका प्रमुखको निर्वाचनमा आफ्नो उम्मेदवारी सहित विजय गर्ने दाबी गरेका छन् । बि.स. २०५२ साल नेविसंघ देखि राजनीतिमा सक्रिय रहेका कार्की बि.स.२०५२ मा गणेश माबी बडालको नेविसंघ इकाई सचीवबाट राजनीति सुरु गर्दै सानोठिमी क्याम्पस इकाई सदस्य ,नेविसंघ केन्द्रिय कार्यालयको मुख्य सचीव, गाउँ कमिटीको उपसभापति, सभापति हुदै बर्तमानमा गन्यापधुरा २ को वडाध्यक्ष रहेका छन् ।
यस्तै युवा नेता सुरेन्द्र माली गाउँपालिका प्रमुखको आकांक्षिका रुपमा रहेका छन् । बि.स. २०५१ गणेश माबी बडालको इकाई अध्यक्षबाट राजनीति सुरु गरेका माली पालिका र जिल्लाको राजनीतिमा सक्रिय हुँदै आएका छन् । २०५१ को गणेश माबी इकाई अध्यक्ष, २०५४ मा सिताराम स्कुल डोटीको इकाई सचीव,२०५७ मा सानोठिमी क्याम्पसको इकाई अध्यक्ष, २०६२ मा नेविसंघ डडेल्धुराको कार्यवाहक अध्यक्ष,२०६४ मा तरुण दल डडेल्धुराको उपाध्यक्ष हुदै काङ्ग्रेस पार्टीको जिल्ला कार्य समिति सदस्य भएर नेतृत्वभुमी राजनीति गरिसकेका छन् ।गाउँपालिकामा लामो समय देखि काङ्ग्रेसको सक्रिय राजनीतिमा रहेका माली आगामी गाउँपालिकाको प्रमुखमा दाबी गरेका छन् । यस अघिको स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुखको दाबी गरे पनि पछि सहमतिमा पछि हटेका थिए । जिल्लामा देखिएको गुटमा माली पुर्व जिल्ला सभापति कर्ण मल्लसङ्ग नजिक रहेका छन् । काङ्ग्रेसको १४ औं महाधिवेशनमा जिल्लामा एकलौटी रुपमा क्रियाशिल सदस्य बितरण गरेको भन्दै बहिष्कारको पक्षमा रहेका थिए । जिल्ला र पालिकामा पार्टी भित्र रहेका दुई पक्षको साझाका रुपमा आफू रहेको दाबी गर्दै गाउँपालिकामा कार्यकर्ता सङ्ग भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन् ।
यस्तै गाउँपालिका प्रमुखमा जिल्ला सचीव शेर भण्डारीको दाबी रह्ने पनि बुझिएको छ ।
नेपाली कांग्रेसले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने तयारी गरिरहेको छ ।

