धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले गेटा मेडिकल कलेजका भौतिक संरचना निर्माण भइसक्दा समेत सरकारले सञ्चालनमा ढिलाइँ गरिरहेको बताएका छन् ।
मंगलबार गोदावरी नगरपालिका–१२ को नाइलमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको मोडालिटीमा सञ्चालन गर्नुपर्ने भएपनि सरकारले विभिन्न बाहानामा ढिलाइँ गरिरहेको बताए ।
मेडिकल विश्वविद्यालय सञ्चालनमा प्रधानमन्त्री शेरबहादुर देउवा बाधक बनेको उनको आरोप छ । ‘मैले प्रधानमन्त्रीलाई भेटेर गेटामा भौतिक संरचना निर्माण भइसकेकाले मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालन गनुपर्यो भनेको छु ।
तर, उहाँले यो ऐन छैन, त्यो ऐन छैन भनेर पन्छिने काम गरिरहनुभएको छ,’ भट्टले भने, ‘अध्यायदेशबाट पार्टी फुटाउन मिल्ने अनी विश्वविद्यालय बनाउन सकिदैन ? भनेर मैले उहाँ (प्रधानमन्त्री)लाई भनेको छु ।’
जवाफमा प्रधानमन्त्री देउवाले मेडिकल विश्वविद्यालय सञ्चालन गर्न अझै ३ वर्ष लाग्ने बताएको उल्लेख गर्दै उनले उक्त अवधिसम्म भौतिक संरचना जीर्ण भइसक्ने बताए ।
आफू उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्री भएका बेला सुदूरपश्चिम प्रदेशको विकासका लागि महत्वपूर्ण मानिएका दोधाराचाँदनीमा सुुख्खा बन्दरगाह निर्माणका लागि डीपीआर बनाउने, दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास, हरैयालाई विशेष आर्थिक क्षेत्र घोषणा गरेर आवश्यक काम अगाडि बढाइएको उनको भनाई छ । नेकपा एमाले देशलाई व्यवस्थित, विकास र जनतालाई उज्यालो देखाउने पार्टी भएको नेता भट्टले दाबी गरे ।

