काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा केन्द्रीत चुनावी आमसभा सुदूरपश्चिमबाट सुरु गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते दार्चुलाबाट चुनावी राष्ट्रव्यापी अभियान सुरु गर्ने कार्यक्रम तय भएको छ।
दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई सम्बोधन गर्दै सुरु हुने अभियान अन्तर्गत सोही दिन ओलीले सुदूरपश्चिका अन्य दुई जिल्लाका आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिव पाठकले बताउनुभयो।
उहाँका अनुसार दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई ओलीले सम्बोधन गर्नुहुने छ । भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको दार्चुलाबाट ओलीले एमालेको आसन्न चुनावको राष्ट्रव्यापी अभियान सुरु गर्न लाग्नुभएको हो ।
ओली सरकारको नेतृत्वमा भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी भएको थियो।
सोही कुरालाई चुनावमा जनतामाझ लगेर ‘चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन’ भन्दै मत माग्न एमालेले अभियान सुरु गर्नका लागि दार्चुलालाई रोजेको अनुमान छ।
दार्चुलामा एमालेको आमसभा उद्घाटन गर्न अध्यक्ष ओली आउने कार्यक्रम तय भएपछि तयारी तीव्र पारिएको त्यहाँका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो।
ओली ९ वर्षपछि दार्चुला जान लाग्नुभएको हो । यसअघि ०७० सालको चुनावमा गोकुलेश्वरमा आयोजना भएको आमसभालाई सम्बोधन गर्न ओली त्यहाँ पुग्नुभएको थियो ।

