काठमाडौं । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेको बताएका छन् ।
बाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन रहरले नभएर लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गरेको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको दाबी पनि गर्नुभयाे । देशमा स्थायी शान्ति, बलियाे लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उहाँले यसको अपरिहार्यता भोलि पनि रहने जिकिर गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘यो गठबन्धन आवश्यकताले बनेको हो । रहरले बनेको होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउनलाई गठबन्धन भएको होइन । यो गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ । देशमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशिता, कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर हामीले अगाडि बढेको खण्डमा हाम्रो देश सच्चा मानेमा अगाडि बढ्न सक्छ भन्ने लाग्छ मलाई ।’
सोही कार्यक्रममा गठन्धनका शीर्षनेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र रामचन्द्र पौडेलले पनि सत्ता स्वार्थका लागि नभएर हालसम्मको राजनीतिक उपलब्धी रक्षाका लागि गठबन्धन गर्नुपरेको बताएका थिए ।
उनीहरूपछि सम्बोधन गरेका सभापति देउवाले संविधान रक्षाको लागि आफूहरूले गठबन्धन गरेको दाबी गरे । संविधानलाई स्थायी शान्तिको रूपमा लिएको बताएको र यसको रक्षाका लागि पनि गठबन्धन गरेको उनको भनाइ छ ।

