KhabarUjyalo

‘ओलीले १० करोड लिएर कमल थापालाई सूर्य चिन्ह बेचे’

५ कार्तिक २०७९, शनिबार
‘ओलीले १० करोड लिएर कमल थापालाई सूर्य चिन्ह बेचे’

हेटौंडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको बताएका छन् ।

शुक्रबार लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर–२ मा उम्मेदवार रहेका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा आयोजित चियापान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।

पूर्वमन्त्रीसमेत रहेको खतिवडाले ओलीले राजावादी र विखण्डनकारीसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताउँदै भने, ‘ओलीले १० करोड लिएर यसपटक सूर्य चिन्ह पनि कमल थापालाई बेच्नुभयो ।’

उनले मकवानपुरमा गठबन्धन बलियो मत रहेकाले एमालेका उम्मेदवारहरू स्पर्धामा आउनै नसक्ने बतए । उनले पश्चिम मकवानपुरको विकासमा आफू र गठबन्धनको लगानीबारे बोल्दै भने, ‘यहाँको विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बरु चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैँ तगारो हाले ।’

अब बन्ने गठबन्धन सरकारले गाँजा विधेयक पारित गर्नुका साथै गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई जेलमुक्त गर्न विधेयक ल्याइनेसमेत उनले बताए ।

कार्यक्रममा मकवानपुरको निर्वाचन क्षेत्र २ को (क)का उम्मेदवार कुमारी मोक्तानले पछिल्लोपटक बागमती प्रदेश सरकारले ल्याएको एउटै बजेटले निर्वाचन क्षेत्र नम्बर–२ को रूपान्तरण भएको बताइन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo