KhabarUjyalo

निर्वाचन नै नभइ सत्ता गठबन्धनले एक सिट गुमायो !

४ कार्तिक २०७९, शुक्रबार
निर्वाचन नै नभइ सत्ता गठबन्धनले एक सिट गुमायो !

काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धन उम्मेदवारविहीन भएको छ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेज गरेसँग गठबन्धन सो क्षेत्रमा उम्मेदवारविहीन भएको हो । 

गठबन्धनको सिट बाँडफाँड अनुसार रुपन्देही– २ एकीकृत समाजवादीको भागमा परेको थियो । एकीकृत समाजवादीले गुरुङलाई उम्मेदवार बनाएको थियो । तर, मुख्य निर्वाचन अधिकृतको कार्यालय रूपन्देहीले चेक बाउन्स प्रकरणमा कालोसूचीमा नाम रहेको भन्दै उनको उम्मेदवारी बदर गरेको थियो । गुरुङले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

आज (शुक्रबार) सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको छ । उक्त आदेशसँगै गुरुङको उम्मेदवारी खारेज भएको छ । र, रुपन्देही–२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ ।

गुरुङको उम्मेदवारी खारेज भएसँगै निर्वाचन नै नभइ सत्ता गठबन्धनले एक सिट गुमाएको छ भने नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई सहज हुने भएको छ । मुख्य प्रतिस्पर्धी गुरुङको उम्मेदवारी खारेज भएले उक्त निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार पौडेललाई सहज भएको हो । 

यसअघि वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षहरूका उम्मेदवारहरूले पाएको मत संख्या हेर्दा गठबन्धन एमालेभन्दा २ हजारभन्दा बढी मतले अगाडि थियो । तर, अब सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि यो क्षेत्रमा एमालेका उम्मेदवार पौडेललाई सहज भएको छ ।

गठबन्धनबाट एकीकृत समाजवादीले प्रतिनिधिसभामा पाएको एक सिट पनि गुमेको छ । गठबन्धनमा एकीकृत समाजवादीले प्रतिनिभिसभातर्फ जम्मा २० सिट पाएको थियो । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo