KhabarUjyalo

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको चर्को आलोचना

२९ असार २०७९, बुधबार
कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाको चर्को आलोचना

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्री गगन थापाको चर्को आलोचना गरेका छन् ।

महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै नेताहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका हुन् ।

केन्द्रीय समिति बैठकअघि डा. शेखर कोइराला पक्षले बोलाएको भेलामा महामन्त्री थापा सहभागी भएका थिए । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर गुटको बैठकमा किन सहभागी भएको भनी थापामाथि प्रश्न उठाएका थिए । एक नेताका अनुसार बुढाथोकीले गुटमा सहभागी भए बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

‘महामन्त्री नेता हो, तर केटाकेटीजस्तो भएर बस्नुभएन, तपाईहरुलाई बहिस्कार गर्ने बेला नआओस्’ बुढाथोकीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरुले पार्टीको आलोचना गरेको भन्दै असन्तुष्टि जनाए । उनले पार्टी कार्यकर्ताको हौसला बढाउने खालको अन्तर्वार्ता दिन महमामन्त्रीहरुलाई आग्रह गरे । ‘अन्तर्वार्ता दिँदा हौसला बढाउने गरी दिनुस्, निराश हुने र जहिले पनि पार्टीको आलोचना गरेर नदिनुस्’ नेता चौधरीको भनाइ उधृत गर्दै एक नेताले भने ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि आलोचना भएको छ । देशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न माग गर्दै महामन्त्री थापा र शर्मा निर्वाचन आयोगमा पुगेको विषयमा नेताहरुले आलोचना गरेका थिए । नेता राजीव ढुंगानाले पार्टीको संस्थागत निर्णयविना महामन्त्रीहरु निर्वाचन आयोग जानु बेठीक भएको बताए ।

‘पार्टीमा छलफल नगर्ने तर दुई महामन्त्री निर्वाचन आयोग जान मिल्ने कुरा होइन, आफुखुशी कुराकानी गर्दै जाने हो भने भोलि अर्को पदाधिकारीले कोहीसँग कुरा गर्लान्, यसलाई कसरी पार्टीको निर्णय मान्न सकिन्छ ?’ उनले प्रश्न गरे ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्तपा डा।प्रकाशशरण महतले पनि महामन्त्रीहरुको भूमिका जिम्मेवारी हुनुपर्ने भन्दै बाहिर मिडियामा बोल्नुभन्दा पहिले पार्टीमा छलफल गर्नुपर्ने बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo