KhabarUjyalo

झोलुङ्गे पुलको नाम जुराउनेलाई २५ हजार पुरस्कार!

५ चैत्र २०७७, बिहीबार
झोलुङ्गे पुलको नाम जुराउनेलाई २५ हजार पुरस्कार!

सरकारको ११ करोड रुपैयाँ लागतमा बनेको बाग्लुङको झोलुङ्गे पुल बाग्लुङ नगरपालिकाले ‘संसारकै लामो झोलुङ्गे पुल’ दाबी गरिरहेको छ।

नगरपालिका दिल्लीस्थित ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा सूचीकृत गर्न चाहन्छ।

‘हामीले गिनिजको अफिसमा निवेदन दियौं, ६ महिनाभित्र हेर्न आउँछौं भनेका छन्’, बाग्लुङका मेयर पौडेलले भने, ‘सुरूमा एसियाको लामो भनेका थियौं, गुगलमा हेर्दा त यो विश्वकै लामो पुल रहेछ।’

सिङ्गल स्पाममा बनेको यस्तै खालको झोलुङ्गे पुल स्विट्जरल्याण्डमा रहेको आफूले थाहा पाएको मेयर पौडेलले दाबी गरे।

धेरै ठाउँबाट यत्तिको लामो पुल त अर्को छैन भनेर आफूलाई भन्न आएको उनले बताए।

संसारकै लामो पुल भनेर गिनिज बुकमा लेखिने भन्दै अहिले नाम राख्न उपसमिति बनाएको पौडेलले जानकारी दिए।

बाग्लुङ नगरपालिकाले उपमेयर सुरेन्द्र खड्काको संयोजकत्वमा पुल नामाकरण उपसमिति गठन गरेको छ।

उपसमितिको सदस्यहरूमा सह-प्राध्यापक विष्णुप्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ, पत्रकार महासंघ बाग्लुङका अध्यक्ष दील शिरिष, कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुवेदी र नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदी रहेका छन्। 

नगरपालिकाले पुलको नामाकरण गर्न यसअघि नै पुलको नामबारे सुझाव मागेको थियो। सर्वसाधारणदेखि विभिन्न क्षेत्रका पदाधिकारीले आ-आफ्नो तर्फबाट नगरपालिकालाई नाम बुझाइसकेका छन्। 

‘सुझावमा आएका नाम नै हामीले फाइनल गर्ने हो’, पुलको नामाकरण उपसमितिका संयोजक एवं उपमेयर खड्काले भने, ‘२, ४ दिनमै पुलको नाम जुराउँछौं।’

विश्वकै लामो पुल बन्ने भएकाले पुलको नाम राख्न खोजिएको मेयर पौडेलले प्रष्टीकरण दिए।

‘विश्वकै अग्लो हिमाललाई एभरेष्ट भन्छन्, सगरमाथा भन्छन्’, उनले भने, ‘संसारकै लामो पुलको पनि त एउटा नाम हुनुपर्‍यो नि।’ 

पुलको ‘युनिक’ नाम राखेर पहिचान दिन खोजेको मेयर पौडेलले बताए।

प्रचार गर्नका लागि सजिलो होस् भन्नका लागि पनि पुलको नाम अनिवार्य चाहिने उनको जोड छ।

पुलको नामाकरण भइसकेपछि नाम जुराउनेलाई पुरस्कारको समेत व्यवस्था गरेको छ। 

नगरपालिकाले मागेका नाममध्ये एउटा छनोट हुने र उक्त नाम राख्न सुझाव दिने व्यक्तिलाई २५ हजार रुपैयाँ पुरस्कार दिने मेयर पौडेलले बताए।

सार्वजनिक सूचना, अनलाइन र नगरपालिकाको कार्यालयमार्फत दर्जन बढी नाम आइसकेको नगरपालिकाले जनाएको छ

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo