KhabarUjyalo

माधव-झलनाथलगायत नेतालाई स्पष्टीकरण सोध्ने तयारीमा ओलि

५ चैत्र २०७७, बिहीबार
माधव-झलनाथलगायत नेतालाई स्पष्टीकरण सोध्ने तयारीमा ओलि

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा गुटको भेला गर्ने माधव-झलनाथ समूहलाई स्पष्टीकरण सोध्ने तयारी गरेका छन् । पार्टी निर्देशन उलंघन गर्दै बुधबार र बिहीबार ललितपुरमा गुट भेला गरेको भन्दै ओलीले कारबाहीको तयारी गरेको उनीनिकट एक नेताले जानकारी दिए। यस अगाडि नै मंगलबार नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत निर्देशन दिएका थिए।

‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नाममा यही २०७७ चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, पोखरेलले विज्ञप्तिमा भनेका थिए, ‘नेकपा (एमाले)का तर्फबाट त्यस्तै कुनै पनि भेला आयोजना गरिएको छैन।’ भेलामा उपस्थित भए पार्टी र संसदीय दलको विधान अनुसार कारवाही हुने विज्ञप्तिमा उल्लेख छ। ओलीले मंगलबार बालुवाटारमा भएको चियापानमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नगएकोप्रति आपत्ति जनाएका थिए । चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीमा अराजकता, अनुशासनहीनता र उच्छृंखलतालाई छुट नभएको बताएका थिए।

विधि विधानविपरीत हिँड्न खोज्नेलाई कारबाही गर्ने चेतावनी प्रधानमन्त्री ओलीले दिएका थिए। ओलीले नेपाल समूहले बोलाएको भेलाप्रति एक नजर पर्ने भन्दै कसैको धम्कीमा पार्टी नचल्ने चेतावनी दिएका थिए। ओलीले राष्ट्रिय भेलामा सहभागी सबैलाई कारबाही हुने बताइसकेका छन्। बिहीबार प्रधानमन्त्री एवम् संसदीय दलका नेता ओलीले संसदीय दलको बैठकसमेत बोलाएका छन्। यता राष्ट्रिय भेलामा व्यस्त भएकाले बिहीबारका लागि बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने एमाले नेपाल समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन्।

पहिलो दिनको भेला सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले संसदीय दलको बैठक हुने जानकारी आएको भए पनि त्यहाँ जाने अवस्था नरहेको बताएका छन्। ‘हामीलाई संसदीय दलको बैठकमा उपस्थित हुनका लागि आपत्ति छैन। आज हामीले संसदीय दलका नेता प्रधानमन्त्रीज्यूलाई कार्यव्यस्थताले हामी भोलिका लागि बोलाइएको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने बताएका छौँ।

तपाईंहरुमार्फत् पनि सार्वजनिक ढंगले यो जानकारी गराउन चाहन्छौँ। त्यसपछि हुने उपयुक्त बैठकमा हामी उपस्थित हुन्छौँ।’ आजको संसदीय दलको बैठकमा पनि माधव-झलनाथ समूहका नेताहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने ओलीनिकट स्रोतले जनाएको छ। वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विभिन्न आरोप लगाउँदै नौ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरिसकेका छन्।

भारतीय नाकाबन्दी सामना गरेको प्रधानमन्त्रीका रूपमा ओलीको लोकप्रियता बढेपछि व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गएको आरोप नेपालले लगाएका छन्। ओलीको क्रियाकलाप कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने दिशामै अगाडि बढेको र त्यसको पराकाष्ठा प्रतिनिधिसभा विघटनसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ। ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक पनि राखेका छन्।

अन्नपुर्णपोष्ट मा खबर छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo