काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) पास गर्ने निर्णय लिएपछि माओवादी नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीका प्रभावशाली युवा नेता भरत बोहोराले पार्टी परित्याग गरेर एमालेमा समाहित भएको घोषणा गरेका हुन् । माओवादी परित्याग गर्दै बोहोराले फेसबुमा लेखेका छन्– ‘प्रचण्ड कमरेडले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेसँगै मैले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा समाहित भएको घोषणा रजानकारी गर्दछु’ ।
माओवादी छाडेको घोषणासहित उनी आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षणमा सहभागी हुँदै एमालेमा प्रवेश गरेका छन् । बोहोरालाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली र सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहितले पार्टीमा स्वागत गरे ।
सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणाको समर्थन गर्दै संसदबाट अनुमोदन गर्ने निर्णय गरेका छन् ।

