KhabarUjyalo

एमसिसीमा एमाले ‘न पोथी न भाले’ : माधब नेपाल

१३ फाल्गुन २०७८, शुक्रबार
एमसिसीमा एमाले ‘न पोथी न भाले’ : माधब नेपाल

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । 

आज शुक्रवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई बर्खास्त गर्नुपर्ने सर्त राखेकोमा दुःख व्यक्त गर्नुभयो । 

अध्यक्ष नेपालले नेकपा एमालेले एमसीसीको बारेमा स्पष्ट धारणा नराखेर अहिलेसम्म न पोथी न भालेको चाल देखाइरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई हतारमा निर्णय नलिन र एमसीसीका केही प्रावधानहरू नसच्याएसम्म आफूहरू विपक्षमा रहने स्पष्ट पारेको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अनेकौँ जटिलता देखापरेका छन् । मैले सूचना पाएसम्म विरुद्धमा मुभ गर्ने, त्यस्तो पनि कोसिस भइरहेको छ । त्यो पनि सर्त राखेर मात्रै । हाम्रा पार्टीका नेताहरूलाई सांसद पदबाट बर्खास्त गर्नुपर्ने, सभामुखलाई बर्खास्त गर्नुपर्ने, महाअभियोग लगाउनुपर्ने यस्ता सर्त राखेर, त्यसपछि मात्रै एमसीसीमा समर्थन गर्ने भन्ने कुराको प्रस्ताव केपी ओलीबाट आएको भन्ने कुराहरू छन् । मैले प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई भनेको छु, हतारमा निर्णय नगर्नुस्, छलफल गर्नुस् र केपी ओलीसँग अनैतिक सम्झौता नगर्नुस् । मुख्य कुरा के हो भने– केपी ओलीले एमसीसीलाई समर्थन गर्ने । तर समर्थन गर्छु पनि नभन्ने, समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल देखाइरहनुभएको छ । हामीले एमसीसी प्रोजेक्टमा कतिपय कुराहरूलाई मिलाउनु पर्नेछ । नेपाल इन्डाे प्यासिफक रणनीतिकाे अङ्ग बन्न चाहँदैन । कुनै सैन्य रणनीतिमा, कसैको सुरक्षा रणनीति अन्तर्गत नेपाललाई पार्न दिने पक्षमा छैनौँ । नेपालको भूमिलाई छिमेकी देशहरूको विरुद्धमा प्रयोग हुने कुनै पनि आशङ्का नरहने कुराको प्रत्याभूति चाहन्छौँ ।’ 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo