बाको सपना
सपना!
सपना नितान्त प्यारो छ
पूरा गर्न थोरै अप्ठ्यारो छ
मेरा बा आगनको
ढिलमा बसेर भन्नू हुन्थ्यो
शब्दमा सन्तुष्टिको
लाली घसेर भन्नू हुन्थ्यो
छोरी पढाउछु लेखाउछु
चरित्रवान् सन्तान बनाउछु।
टाल्नु छैन माटोले घरको भित्ता
झुप्रै ठिक छ,
अँध्यारो कोठामा
यता हेर्छु उता हेर्छु
लामो सास फेर्छु
चाहिदैन चिम
छोरी मुस्कुराउदा
घर उज्यालो देख्छु।
मैले अथाह सपना पालेको छु
भन्नुहुन्थ्यो बा,
सुन चादिले घर हैन
अन्नले माना पाथी भर्ने
गमलामा फूल हैन
खेतमा धान रोप्ने
बनारसे मखमल हैन
कपासको बर्को ओड्ने।
टारी खेत जोत्नु छ
सुन फलाउनु छ
मैले
तिमी पढिदिए पुग्छ
सुस्त सुस्त अघी
बढिदिए पुग्छ
म पसिना बगाउछु
नांग्रा खियाउछु
तिमीले हृदयले
हेरि दिए पुग्छ।
कागजमा झुटको खेती गर्ने नबन्नु
आफ्नो दुनो सोज्याइ
गोजि भर्ने नबन्नु।
मेरो ठूलो सपना
तिमिले
रोगीको औषधि बन्नु
भोकाको खाजा बन्नु
अनाथको आमा बन्नु
वृद्ध बा आमाको साहारा बन्नु
हौसला दिदै
हात म समाउला
बाटो म देखाउला
छोरी
तिमीले यो बाको
सपना पूरा गर्नु।
गन्यापधुरा ३ डडेल्धुरा ।
