KhabarUjyalo

देउवाले जसपाका मन्त्री बर्खास्तपछि मुख्यमन्त्री राउतले गरे कांग्रेसका मन्त्रीलाई बर्खास्त !

२८ आश्विन २०७९, शुक्रबार
देउवाले जसपाका मन्त्री बर्खास्तपछि मुख्यमन्त्री राउतले गरे कांग्रेसका मन्त्रीलाई बर्खास्त !

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। संघीय सरकारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी जसपाका मन्त्रीहरूलाई हटाएको बदलामा राउतले प्रदेश सरकारमा रहेका कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार हटाएका हुन्।

प्रदेश सरकारमा कांग्रेसका रामसरोज यादव भौतिक पूर्वाधार तथा यातायात, वीरेन्द्र सिंह महिला बालबालिका तथा खेलकुद र ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा मन्त्री थिए। मुख्यमन्त्री राउतले बिहीबार बेलुका नै तीनै जनालाई फोन गरी राजीनामा गर्न आग्रह गरे पनि नमानेपछि तीनै जनालाई बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

‘तीनै जनालाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्रीज्यूले प्रदेश प्रमुखज्यूलाई पठाउनुभएको छ। रिक्त भएका तीनै मन्त्रालय अब मुख्यमन्त्रीज्यू आफैंले सम्हाल्नुहुनछ,’ स्रोतले भन्यो। सत्ता गठबन्धनकै अरू दुई घटक नेकपा एकीकृत समाजवादी र माओवादीका मन्त्रीलाई भने मुख्यमन्त्री राउतले निरन्तरता दिएका छन्।

मधेस प्रदेशमा जसपा‚ नेपाली कांग्रेस‚ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी को संयुक्त सरकार थियो। जसपा विभाजित भएपछि लोकतान्त्रिक समाजवादी पार्टी रोजेका मन्त्रीहरूलाई हटाएर यी दलहरूलाई पालैपालो मुख्यमन्त्री राउतले प्रदेश सरकारमा सामेल गराएका थिए ।

माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साह गृह तथा सञ्चार मन्त्री र रूबी कर्ण राज्यमन्त्री छन्। त्यसैगरी एकीकृत समाजवादीका तर्फबाट शत्रुधन महतो उद्योग‚ वन‚ पर्यटन तथा वातावरण र प्रमोद यादव प्रदेश सभा तथा कानुन मन्त्री छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo