KhabarUjyalo

देउवाको उम्मेदवारी खारेज नहुने

२५ आश्विन २०७९, मंगलवार
देउवाको उम्मेदवारी खारेज नहुने

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ।

उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानूनसम्मत नदेखिएको भन्दै उमेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

‘उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उमेदवारका सम्पूर्ण कागजातमाथि छानबिन गरेका थियौं,´ उनले भने, `उमेदवारका सबै कागजात कानुनसम्मत देखियो । उजुरी भने कानुनसम्मत नदेखिएपछि उमेदवारी स्वीकृत गर्ने निर्णय गरेका हौं।’

एउटामात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्।

नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ। देउवाको उम्मेदवारीविरुद्ध उजुरी दिने मल्ल नेपाली कांग्रेसका पूर्व डडेल्धुरा सभापति हुन्। उनी ०७४ सालको निर्वाचनमा काँग्रेसबाटै प्रदेशसभा सदस्इमा विजयी भएका थिए। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्दै काँग्रेस बीपीको चुनाव चिह्नबाट आफूनिकटका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो। अहिले काँग्रेस बीपीका बरिष्ठ उपसभापति रहेका मल्लले देउवाविरुद्ध चुनाव लड्न उम्मेदवारी दर्ता गरेका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा देउवासहित ११ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo