KhabarUjyalo

राजनीतिमा इमानको प्रतीक प्रदीप गिरि !

५ भाद्र २०७९, आईतवार
राजनीतिमा इमानको प्रतीक प्रदीप गिरि !

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेर शनिबार निधन भएको छ।  नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका गिरी साउन ९ गते मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । शनिबार राति ९ः ३६ बजे उनको निधन भएको छ ।

काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि प्रतिनिधिसभा सदस्य समेत रहेका थिए ।  गिरिले २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा थालेका थिए ।  बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भयो ।

राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस) को निर्वाचित उपाध्यक्ष थिए । २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरि राष्ट्रिय राजनीतिमा उदाएका थिए । 

०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । कांग्रेसमा गिरि कृष्णप्रसाद भट्टराई नजिकका नेताका रूपमा चिनिन्थे । पछि पनि गिरिले शेरबहादुर देउवालाई साथ दिए । देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए ।

भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए ।निरन्तर अध्ययन, तार्किक क्षमता र वाकपटुता गिरिका शक्ति हुन् । उहाँ इमान्दारी उहाँको सचरित्रता र उहाँको विज्ञता नेपाली राजनीतिमा दार्शनिक विचार भएका धेरै कम मानिसमध्ये उहाँ प्रमुख व्यक्ति हो ।  गिरि प्रश्नहरूको उत्तर लामो तर सामान्य भाषामा दिने गर्दछन्, ताकी सामान्य भन्दा समान्य मान्छेले पनि बुझ्न सकुन् । गिरिले दिने प्रत्येक जवाफमा कुनै न कुनै पुस्तक र त्यसको अंश उदाहणका रुपमा आउने गर्दछन् । 

नेपाली कांग्रेसको प्रमुख सिद्धान्त मानिने प्रजातान्त्रिक समाजवादको व्याख्या, विश्लेषण र यस विचारधारालाई अगाडि बढाउने काम वीपीपछि कसैले गरेको छ भने त्यसको एकमात्र श्रेय प्रदीप गिरिलाई जान्छ । नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद छाड्दै गएकोमा उहाँ पछिल्लो समय चिन्तित हुनुहुन्थ्यो । तर, पार्टीभित्र पनि प्रतिपक्षीको भूमिका निभाएर पार्टीमा हुने गरेका विकृति, विसङ्गतिका बारेमा उहाँले सधैँ आवाज उठाइरहनुभयो ।वीपीपछि नेपाली कांग्रेसले समाजवादलाई अगाडि बढाउन सकेन त्यो नै उहाँको चिन्ताको विषय थियो । तर, पनि उहाँले नेपाली कांग्रेस छोड्नु भएन र पार्टीमार्फत नै आफ्नो विचार प्रसार गरिरहनु भयो । पार्टीलाई मार्गनिर्देशन गरिरहनु भयो । समाजवाद पक्ष अल्पसङ्ख्यक विचार भयो । पार्टीले कार्यक्रममा उतार्न सकेन । त्यसमा उहाँलाई दुःख थियो । तर, पनि उहाँ विचलित हुनु भएन । निरन्तर समाजवादी विचारको महत्त्व दर्शाइरहनु भयो । त्यसको पक्षमा बोलिरहनु भयो । पार्टीमा आफ्नो विचार राखिरहनु भयो । त्यस अर्थमा ठूलो लडाकु हो उहाँ । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo