काठमाडौँः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टी बलियो अवस्थामा पुगेकाले सम्पूर्ण ध्यान जनताको काममा लगाउन जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। वैशाख ३० गते पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सोमबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
पार्टीको लोकप्रियता, सवलतासँगै सम्पूर्ण ध्यान जनताको काममा लगाउनु हुनेछ भन्ने विश्वास छु, प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘मैले विशिष्ट परिस्थितिमा सरकारको नेतृत्व गरेको हँ। कोभिड नियन्त्रण गर्ने, लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने र एमसीसी अनुमोदन गर्ने जिम्मेवारी थियो। त्यो पूरा गरेँ।’ उनले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउँदै अबको ध्यान मंसिर ४ गतेका लागि लगाउनुपर्नेमा जोड दिए।
‘अघिल्लो पटक हामीले विपक्षी गठबन्धनका कारण जित्न सकेनौँ। यसपटक हाम्रो गठबन्धनको सरकार छ। हामीले गठबन्धन गरेरै जाने हो,’ उनले भने, ‘पार्टी भित्र मजबुत एकता कायम गरेर चुनावमा जाऊँ। मैले पार्टीभित्र सहमतिमा निर्णय गर्ने गरेको छु। आगामी दिनमा पनि कसैलाई काखा पाखा हुन दिन्नँ।’ देउवाले कतिपय ठाउँमा गठबन्धन भएर पनि हामी हार्नु परेको बताउँदै स्थानीय तहले जनताको मन जित्नुपर्नेमा जोड दिए।
‘जनताभन्दा ठूलो कोही छैन। जनता यो देशका मालिक हुन्। जनताको मन जित्ने गरी काम गर्नुपर्छ,’ उनले भने, ‘पार्टीका सबै साथीहरू लागेर जनताको दिल जित्यौँ भने हामी जित्ने छौं। जनता भन्दा ठूलो कोही छैन।’ उनले पार्टीका सबै नेताहरुलाई जनतामा जान आग्रह गरे। ‘अब जनतामाझ गएर विश्वास लिने काममा लाग्न आग्रह गर्दछु। यसपटकको चुनाव जित्ने विश्वास छ,’ उनले भने, ‘तर गठबन्धन छँदैछ, चुनाव जितिहालिन्छ भन्ने पनि परेको छ। त्यस्तो होइन। जनतामा जानुपर्छ।’
