डडेल्धुरा : पाँच वर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौं?’ भन्दै प्रश्न गर्दा देउवाले तपाई ‘बढ्ता बोल्दै हुनुहुन्छ ‘ भनेर बोल्दा चर्चामा आएका गुल्मीका सागर ढकाल पाँच वर्ष पछि डडेल्धुराबाट देउवासँगै चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
चुनावी तयारीका लागि काठमाडौबाट बसमा बुधबार डडेल्धुरा पुगेका हुन् । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनावमा देउवासङ्ग डडेल्धुराबाट लड्ने घोषणा गरे ।
उनले शेरबहादुर देउवालाई आराम दिन डडेल्धुराबाट प्रतिनिधि सभाको चुनाव लड्न लागेको बताए । हजुरवुवा, बुवाका उमेर भएकाले मुलुक हाँक्न नसक्ने भन्दै अब नेतृत्व ४० वर्ष मुनिका युवाको आवश्यक रहेको उनले बताए।
डडेल्धुराबाट देशभरि नयाँ सन्देश दिन आफूले डडेल्धुराबाट उम्मेदवारी दिएको उनले बताए। देशको मुद्दा लिएर जसले जहाँबाट उठे पनि हुने बताए ।
‘१६५ क्षेत्रबाटै युवा उठे। तर, म डडेल्धुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ। म देउवालाई हराउन आएको होइन्। ४०/५० देशलाई कसरी हाक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ।’
उनी केही समय अघि बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको हुन् भने पेशाले इन्जिनियर हुन्।
