KhabarUjyalo

धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छ : अध्यक्ष प्रचण्ड

९ श्रावण २०७९, सोमबार
धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छ : अध्यक्ष प्रचण्ड

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्न नसके चुनाव जित्न नसकिने बताउनु भएको छ । 

आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावबाट पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै सङ्घर्ष गर्नुपर्ने बताउनुभएको हाे ।

उहाँले पालिकाको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै सङ्घ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब रुपैयाँभन्दा माथि हुने बताउनु भयो । 

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र सङ्घको चुनावमा त अर्बतिर जाने भयो । श्रमजीवी जनताले अब क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो ।’

अध्यक्ष प्रचण्डले अहिलेको चुनाव प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताउनु भयो । उहाँले देशको शासन प्रणाली पनि शासन देश अनुकूल नभएको दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले अहिले सांसद हुन करोडौँ खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताउनु भयो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo