काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस हुती नभएको पार्टी भएको आरोप लगाउनुभएको छ ।
शुक्रबार छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए उहाँलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्दै नसक्ने ठोकुवा गर्नुभयो ।
‘कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो । मन्त्रीले जे गरे पनि कांग्रेस त हेरेको हेर्यै ।’ ओलीले भन्नुभयो, ‘कांग्रेसको हुती नै छैन । दम नै छैन । यसपटक पनि मन्त्रीले आफैं राजीनामा दिएर हो । प्रधानमन्त्रीसँग मन्त्री निकाल्ने हुति छ ?’
माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म दिन नसकेको बताउनुभयो । ‘के का लागि हतियार उठाएको थियो । त्यसबेला देखि सोध्दै आएको छु । जवाफ दिन सकेको छैन । महान् जनयुद्ध के पाएर छोडे त?’ ओलीले भन्नुभयो।
जनआन्दोलन २ को अन्तिम दिन वैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको ड्राफ्ट आफूले तयार गरेको ओलीले दाबी गर्नुभएको छ ।
