KhabarUjyalo

राजीनामा दिएलगत्तै प्रचण्डसँग जनार्दन शर्माको कानेखुशी !

२२ असार २०७९, बुधबार
राजीनामा दिएलगत्तै प्रचण्डसँग जनार्दन शर्माको कानेखुशी !

काठकमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि राजनीतिक पूर्वाग्रहको पराकाष्ठाको व्यवहार गरिएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा राजीनामा घोषणा गर्नुअघि उनले प्रश्न गर्नुअघि सच्चाइ तथा तथ्यको गहिराइमा पुग्नुपर्ने बताए । शर्माले भने–‘म उठेका प्रश्नको उत्तर दिनु मेरो दायित्व हो । मैले संसदमा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ । न मैले संकट परेका जनताको कोरोनाको क्रममा बदमासी गरेँ, न मैले करको दर हेरफेर गर्नुपूर्व कुनै व्यापारीलाई सामान भित्र्याउन अनुमति दिएँ न सूचना दिएँ । न मैले बच्चाको दुधको रेट बढाएर चकलेटहरुको मूल्य घटाए ।

के कारणले म अनैतिक भएँ आज प्रश्न उठिरहेको छ ।’ उनले एमाले सांसद योगेश भट्टराईले सैनिक नेतृत्वले जस्तै आदेश फरमान जारी गर्दै दोषी करार गरेको बताए । उनले एमालेले मागेको राजीनामाको सम्मान गर्दै सच्चाइ तथा तथ्यको गहिराइमा पुग्नुपर्ने बताए । सच्चाइमा नपुगी निर्णय गर्दा अन्यायमा पुग्ने त हैन भन्नेमा सोच्न आग्रह गरे । उनले आफूले बजेट निर्माण गर्दा कुनै त्रुटी नगरेको बताए ।

उनले भने–‘बिधि प्रक्रिया अनुसार आधिकारिक व्यक्ति मार्फत बजेट निर्माण भएको छ । यो सच्चाइलाई अरु कसैले पनि झुटो सावित गर्न सक्दैन । करको दररेट हेरफेर गर्ने सन्र्दभमा अर्थमन्त्रालयका दुई सचिव र दुई विभागीय प्रमुखहरुलाई नीतिगत निर्देशन गरेको छु ।

यो देशको अहिलेको अर्थतन्त्रलाई हेरेर के गर्ने, उत्पादनलाई बृद्धि गर्नुपर्ने आवश्यकतालाई हेरेर, आज विदेशी मुद्रालाई सञ्चिति गर्नुपर्ने आजको आवश्यकतालाई हेरेर डलरको सञ्चिति कसरी गर्न सकिन्छ, उत्पादन बृद्धि कसरी गर्न सकिन्छ भनेर कच्चा पदार्थमा करहरू नबढाउने, महंगो मूल्य पर्ने साधनहरुलाई कर केही बढाएर आम जनताका लागि कम खर्च गरेर आउँने साधनहरुमा यथावत राख्ने नीति लिएको कुरा स्पष्ट गर्न चाहन्छु ।’ सो नीतिले देशको सबलीकरण गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

राजीनामा घोषणा गरेलगत्तै शर्माले आफ्नो पार्टीका संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालसँग भलाकुसारी गरेर प्रतिनिधि सभाबाट बाहिरिएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo