KhabarUjyalo

अर्थमन्त्री हटाउन देउवामाथि चौतर्फी दबाब

२१ असार २०७९, मंगलवार
अर्थमन्त्री हटाउन देउवामाथि चौतर्फी दबाब

काठमाडौं । एकपछि अर्को विवादास्पद गतिविधिमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि चौतर्फी दबाब बढेको छ । प्रमुख प्रतिपक्षी दल, नागरिक अगुवाका साथै सत्तारूढ दलका नेता–कार्यकर्तासमेतले अर्थमन्त्री शर्मालाई हटाउन प्रधानमन्त्री देउवासँग माग गरिरहेका छन् । सामाजिक सञ्जालमा पनि अर्थमन्त्री र उनका विवादास्पद गतिविधिको आलोचना भइरहेको छ 

बजेट प्रस्तुत गर्नु अघिल्लो रात (जेठ १४) अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । करको दर हेरफेर गर्न राजस्व प्रशासनका पूर्वकर्मचारी रघुनाथ घिमिरेलाई मन्त्री शर्मालेमन्त्रालयमा प्रवेश गराएको आरोप छ । त्यससँग सम्बन्धित प्रमाण (सीसीटीभी फुटेज) नै नष्ट भइसकेको सूचना अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाटै आइतबार आएपछि शर्मामाथि आफैं प्रमाण मेटाउनतिर लागेको थप आरोप लागेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीदेखि सरकारको नेतृत्व गरिरहेको कांग्रेसका महामन्त्री गगन थापासम्मले सोमबार प्रधानमन्त्री देउवाले बर्खास्तीको कदम चाल्न जोड दिए । अर्थमन्त्री शर्मा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने एमाले अध्यक्ष ओलीको माग छ । ‘प्रधानमन्त्री लाचार हुनुभएको हो ? केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? कि गठबन्धन जोगाएपछि पुग्छ ? देश बर्बाद होस्, जहाँसुकै पुगोस् ? गठबन्धनमाथि धराप पर्छ एउटा मन्त्रीमाथि प्रश्न उठ्दा ?’ ओलीले प्रतिनिधिसभा बैठकमा भने, ‘मन्त्रीतिर जान चाहन्नँ । अब निष्पक्ष देखिने समिति गठन गरेर छानबिन गर्नुपर्छ । छानबिन समितिको प्रतिवेदनसहित प्रधानमन्त्री यस सम्मानित सदनमा आउनुपर्छ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo