KhabarUjyalo

एकीकृत समाजवादीका मन्त्रीले दिए राजीनामा

१२ असार २०७९, आईतवार
एकीकृत समाजवादीका मन्त्रीले दिए राजीनामा

नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरुले राजीनामा दिएका छन्।  उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका हुन्।

आइतवार पार्टीनिकट अनेमसंघको भेलालाई काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष नेपालले मन्त्रीहरूले आफूलाई राजिनामा बुझाएको बताएका हुन्।

नेपालले केही मन्त्रीहरुबाट आएको राजीनामा आफ्नो गोजीमा रहेको उनले बताएका छन्। ‘केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिनु भएको छ। पार्टीलाई जुन बेला मन लाग्छ म बाहिर प्रेसमा पठाएर सार्वजनिक गर्नेछु’, उनले भने, ‘राजीनामा पत्र नै चाहिँदैन। पुनर्गठनका लागि हाम्रो निर्णय नै पर्याप्त छ।’

‘मन्त्रीहरुमा महिला खोइ भन्ने भएको छ। महिला पठाउँदैमा सबैथोक हुने होइन। तर, हामीकहाँ सक्षम महिला पनि छन्’, उनले भने, ‘यो पटक बाध्यता महिला सिफारिस गर्न सकिएन। अर्को पटक यसलाई सच्याएर जाऊँला।’

उनले जेठ २२ मा चार मन्त्री फेर्ने निर्णयलाई शनिबारको केन्द्रीय कमिटी बैठकले पनि तलमाथि नगर्न भनेको बताए।

‘महिलाको पक्ष होस् या एउटा जिल्लाबाट दुईजना होस् अहिलेको निर्णय फेरिँदैन’, उनले भने, ‘मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुनेछ, छिटोभन्दा छिटो हुनेछ। आशा गरौँ आजै हुनेछ। पार्टीको निर्णय लागु हुनेछ।’

उनले आफ्ना मन्त्रीतिर लक्षित गर्दै आफूले पद पाएपछि नछाड्ने रोग देखिएको बताए। ‘आफू बसिसकेपछि हट्नै नचाहने समस्या छ। सबैलाई पार्टीको निर्णय पालना गर्न सक्नुपर्छ’, उनले भने, ‘आफूले भनेको पालना नगर्ने हो भने अरुले पनि मान्ने छैनन्।’

पार्टीले सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ भने स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भवानी खापुङलाई स्वास्थ्यमन्त्री बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने निर्णय गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo