KhabarUjyalo

केपी शर्मा ओली भोलि बझाङ जादै !

२७ चैत्र २०७८, आईतवार
केपी शर्मा ओली भोलि बझाङ जादै !


बझाङ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बझाङ जादै छन् । एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओलीसङ्गै उपाध्यक्ष बिष्णु पौडेल बझाङ जान लागेका हुन् । 
आज बझाङमा पत्रकार सम्मेलन गर्दै जिल्ला पार्टी कार्यालयले कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ । कार्यक्रममा ३० हजार बढी स्थानीय उपस्थित हुने अपेक्षा गरिएको एमाले बझाङ अध्यक्ष दमन भण्डारीले जानकारी दिए । उनले कार्यक्रमको लागि ५ सय भन्दा बढी स्वयंसेवक परिचालन गरिएको समेत बताए । 
‘सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ’ उनले भने ‘बझाङमै पहिलो पटक यति ठुलो कार्यक्रमको आयोजना गर्ने तयारीमा छौँ ।’
भोलि दिन करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् । 
‘२ हजार बढी कार्यकर्ता एमालेमा भित्राउने गरी एमाले अध्यक्ष ओली बझाङ आउन लाग्नु भएको हो’ एमाले बझाङ इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य भैरव बहादुर सिंहले भने ‘ ‘हामीले राष्ट्रिय स्तरमै चर्चा पाउने गरी कार्यक्रम गर्ने योजना बनाएका छौँ ।’
१० औँ महाधिवेशन पछि पहिलो पटक अध्यक्ष र उपाध्यक्ष सुदूरपश्चिम प्रदेशमा आउन लागेका हुन् । पहिलो पटक अध्यक्ष र उपाध्यक्ष आउने कार्यक्रम ऐतिहासिक हुने एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले भने ।
‘पार्टीलाई सङ्कट पर्दा सधैँ सुदूरपश्चिम अगाडी देखिएको छ’ उनले भने ‘आगामी निर्वाचनमा पनि सूर्य पश्चिमबाट उदाउने सङ्केत गर्दै भोलि कार्यक्रमको आयोजना हुन लागेको हो । ’
उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय झाँकी प्रर्दशन र देउडा प्रतियोगिता समेत आयोजना हुने बताइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo