काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा नाराबाजी भएको छ ।
आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाउँदै नाराबाजी गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संयमित भएर आ–आफ्नो स्थानमा बस्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले होहल्ला र नाराबाजी जारी गरे । त्यसपछि असहज स्थिति सिर्जना भएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले छलफल गर्न नभई निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन मात्रै बोलाएको बताए पनि ठूला दलको मात्र कुरा सुन्ने गरेको भन्दै होहल्ला गरेका हुन् ।
निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई मंगलबार बोलाएको थियो ।

