रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धकालमा ऐतिहासिक कीर्तिमान कायम गरेको रोल्पाली जनताले प्रतिगमनविरुद्ध समेत रोल्पालाई लालकिल्ला बनाइराख्ने विश्वास व्यक्त गर्नुभएको छ । आज रोल्पाको सातदोबाटोमा निर्माण भएको भ्यू टावरको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहिदहरुको स्मरण गर्दै आगामी निर्वाचनमा प्रतिगमनकारीलाई रोल्पाली जनताले परास्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“रोल्पाले क्रान्तिप्रतिको निष्ठा, विचार र नेतृत्वप्रतिको निष्ठालाई कम हुन दिएको छैन ।” अध्यक्षले भन्नुभयो, “आगामी निर्वाचनमा पनि ती महान सहिदहरुलाई स्मरण गर्दै प्रतिगमनको षडयन्त्र परास्त गर्न फेरी लाल किल्लाको रुपमा कायम गर्ने छ ।” रोल्पा जिल्लाले क्रान्ति र ध्वंस मात्रै नभएर विकास र समृद्धिका पक्षमा समेत आफूलाई अब्बल साबित गरेको बताउँदै अध्यक्ष प्रचण्डले जिल्लाको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

