KhabarUjyalo

रवीन्द्र मिश्रलाई कारवाही माग गर्दै बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग जाने

१४ चैत्र २०७८, सोमबार
रवीन्द्र मिश्रलाई कारवाही माग गर्दै बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग जाने

काठमाडौँ – विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चुलिएको छ।

विवादकै बीच सोमबार बिहान बहुमत केन्द्रीय सदस्यहरुको बैठक बस्ने तयारी गरिएको बुझिएको छ। बैठकले रवीन्द्र मिश्रलाई कारवाही गर्ने निर्णय गर्ने बताइएको छ। रवीन्द्र मिश्रले पार्टीलाई राप्रपासँग एकीकरण गराउने विषयले अहिले पार्टीमा जारी विवादले उग्र रुप लिएको छ। मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्तावेज ल्याएदेखि नै पार्टीमा विवाद भइरहेको छ।
पार्टीमा विवाद आएदेखि नै मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शना, पुकार बम, रमेश पौड्याललगायतका नेता मिलन पाण्डेको पक्षमा उभिँदै रवीन्द्र मिश्रको विचारसँग असहमति राख्दै आएका छन्। तर, अहिले रवीन्द्र मिश्रले साथ लिएका केही नेताहरुसँगको आन्तरिक भागबन्डा नमिलेपछि उत्पन्न विवाद थप चुलिएको मिश्र पक्षका नेताहरुको दाबी छ।

मिश्रले गण्डकी प्रदेशमा सुशीला केसी अधिकारी र मधेस प्रदेशमा धनपती महतोलाई नियुक्त गरेसँगै उनको समूहमा विवाद आएको हो।

‘निर्देश सिलवालले गण्डकी प्रदेशमा आफू निकट नेता चाहन्थे, सारथी मधेस प्रदेशमा आफू संयोजक हुन चाहन्थे र विराजभक्त श्रेष्ठ बागमती प्रदेशको नेतृत्व हुन चाहन्थे। यो नमिलेपछि मिश्र समूहभित्र पनि विवाद आएको हो’, मिश्र पक्षका एक नेताले भने।

सोमबार बिहान बस्ने बहुमत केन्द्रीय सदस्यहरुको बैठकले रवीन्द्र मिश्रलाई कारबाही गर्ने र त्यसको जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको बुझिएको छ। निर्णय गरेपछि बहुमत केन्द्रीय सदस्यहरु निर्वाचन आयाेग जाने भएका छन्।

मिश्र भने पार्टीमा अनुशासन कायम नराख्नेहरुलाई कारबाही गर्दै अघि बढ्ने तयारीमा लागेका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo