KhabarUjyalo

दुर्गा प्रसाईंलाई गभर्नरको चेतावनीः बैंकको ऋण नतिर्ने र नतिर्न उक्साउनेलाई कारबाही हुन्छ

२३ मंसिर २०८०, शनिबार
दुर्गा प्रसाईंलाई गभर्नरको चेतावनीः बैंकको ऋण नतिर्ने र नतिर्न उक्साउनेलाई कारबाही हुन्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण नतिर्नु भन्दै ऋणीलाई उक्साउँदै हिँड्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले वित्तीय क्षेत्रमा अराजकता निम्त्याउन खोज्नेलाई कडा कारबाहीको चेतावनी दिएका हुन् ।

‘वित्तीय क्षेत्रमा नियतबस कर्जा नतिर्ने र कर्जा नतिर्न उक्साउने समस्याको रुपमा आइरहेको छ, कतिपय उत्श्रंखल गतिविधिहरु पनि भइरहेका छन्,’ गभर्नर अधिकारीले भने, ‘ऋण लिएपछि तिर्नैपर्छ, नियतबस ऋण नतिर्ने र नतिर्न उक्साउनेप्रति कडा भएर प्रस्तुत हुन्छौं । कारबाही प्रभावकारी बनाउँछौं ।’

यस्तो उत्श्रंखल गतिविधि रोक्न नेपाल राष्ट्र बैंक कडारुपमा प्रस्तुत हुनुपर्ने महशुस गरेर त्यस्ता ऋणीसँग कडा भएर असूली गर्ने रणनीति बनाएको उनले बताए ।

तर, असल नियत हुँदाहुँदै पनि ऋण तिर्न वास्तविक समस्यामा परेका ऋणीलाई भने केही सहजिकरणको व्यवस्था गरिएको उनको भनाइ छ ।

‘कोही ऋणीहरु परिस्थितिजन्य कारणले समस्यामा परेका छन् भने त्यस्ता ऋणीहरुलाई कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणका लागि सहजिकरण गर्ने व्यवस्था गरेका छौं ।’

बैंकको झन्डै ६ अर्ब रुपैयाँ ऋण लिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पछिल्लो समय बैंक विरुद्ध उत्श्रंखल गतिविधि गरिरहेका छन् । प्रसाईंले कर्जा असूली गर्न आउने बैंकका कर्मचारीलाई कालोमोसो दल्ने र कुटपिट गर्ने धम्की दिँदै आएका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo