काठमाडाैं। नेपाल राष्ट्र बैंकले वास्तविक नेपालीहरूको सङ्ख्या भन्दा झन्डै दोब्बर सङ्ख्यामा बैंक खाता सञ्चालनमा रहेको जनाएको छ।
बिहीबार वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिका सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म बैंकहरुको निक्षेप खाताको सङ्ख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको जनाएको हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जनसङ्ख्याको तुलनामा बैंकहरुमा खोलिएको निक्षेप खाताको सङ्ख्या १.७५ गुणाले बढी हो ।
यस्तै, सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा १८ लाख ४५ हजार २१३ वटा कर्जा खाता खोलिएको समेत केन्द्रीय बैंकले जनाएको छ ।
तीमध्ये ८५.९३ प्रतिशत निक्षेप खाता र करिब ८१.९५ प्रतिशत कर्जा खाता वाणिज्य बैंकमा रहेको बैंकले जनाएको छ । यस्तै, २०८० असार मसान्तसम्ममा कूल १ करोड ८९ लाख ४१ हजार ७९३ वालेट प्रयोगकर्ता तथा २ करोड १३ लाख ६३ हजार ९८९ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका केन्द्रीय बैंकले जनाएको छ ।
२०८० असार मसान्तसम्ममा वाणिज्य बैंकको सङ्ख्या २० वटा रहेको छ भने विकास बैंकहरुको सङ्ख्या १७ वटा, वित्त कम्पनीको सङ्ख्या १७ वटा र लघुवित्त वित्तीय संस्थाहरूको सङ्ख्या ५७ वटा रहेका छन् । यी बैंक तथा वित्तीयहरूबाट कूल ११ हजार ५८९ वटा वित्तीय सेवा केन्द्रहरूमार्फत देशैभरि सेवा प्रवाह भइरहेको समेत केन्द्रीय बैंकले आफ्नो विवरण पुस्तिकामा उल्लेख गरेको छ ।