KhabarUjyalo

आज मध्यरातदेखि प्रचार गर्न नपाइने

१ मंसिर २०७९, बिहीबार
आज मध्यरातदेखि प्रचार गर्न नपाइने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले बिहीबार(आज) पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै आज राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जानकारी दिएको छ । 

पत्रकार सम्मेलनका क्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्न सक्ने बताउनुभयो ।  त्यस क्रममा उहाँले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४  लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । त्यस्तै उहाँले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ । 

त्यस्तै प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।  साथै आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरूले पर्यवेक्षण गर्ने जनाएको छ ।

निर्वाचनका लागि २,४६९६० कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगिसकेको आयोगले जनाएको छ भने आगामी दुई दिनभित्र देशभरका मतदान केन्द्र निर्माण गरिसक्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको आयोगले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo