KhabarUjyalo

निकै चासो र चर्चामा रहेको डडेल्धुरामा देउवाको मुख्य प्रतिस्पर्धी को ?

२५ कार्तिक २०७९, शुक्रबार
निकै चासो र चर्चामा रहेको डडेल्धुरामा देउवाको मुख्य प्रतिस्पर्धी को ?

धनगढी – आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन हुन दिन बाकी छ । कुन क्षेत्रबाट को निर्वाचित हुन्छन् भन्नेमा चासो पनि त्यतीनै बढेको छ । देशभर उम्मेदवारहरु पनि चुनावी कार्यक्रममा व्यस्त छन् । भने पाँच वर्षमा एकपटक मतदाता रिझाउन उम्मेदवारहरू जनताको घरदैलोमा पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा निकै चासोका साथ हेरिएको निर्वाचन क्षेत्र हो । देउवाविरुद्ध अक्सफोर्डबाट पढेर आएका इन्जिनियर स्वतन्त्र उम्मेदवार सागर ढकाल हुँदा डडेल्धुराको चुनावी माहौल थप गरम र चर्चाको शिखरमा पुगेको छ ।

देउवाले २०४८ सालदेखि डडेल्धुराबाट चुनाव जित्दै आएका छन् । २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचनमा देउवा डडेल्धुराबाट निर्वाचित भइसकेका छन् । अहिले सातौं पटक २०७९ मा चुनावी मैदानमा छन् ।

डडेल्धुराबाट चुनावमा अपराजित देउवाका विरुद्ध ७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । पाँच गठबन्धनका साझा उम्मेदवार रहेका देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार सागर ढकाल, देउवाका पुर्वस्वकीय सचिव एवं डडेल्धुरा कांग्रेसका पुर्वसभापति कांग्रेस(बिपी)बाट कर्णबहादर मल्ल, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका विक्रम शाही, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार कर्णसिंह रावल र लालबहादुर कठायत चुनावी मैदानमा छन् ।

सामाजिक संजालमा देउवाका प्रमुख प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल भएको देखिएपनी डडेल्धुरा मतदाता भने देउवा स्वकीय सचीव कर्ण मल्ल रहेको बताएका छन् । केहीले मल्ललाई डडेल्धुरामा देउवापछीको नेता भएको बताउने गरेका पनि छन् ।

यसपटक देउवाविरुद्ध तीन पटक प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका नेता खगराज भट्ट देउवालाई समर्थन गर्दै गठबन्धनबाट डडेल्धुराको प्रदेश क मा उम्मेदवारी दिएका छन् । २०७४ सालको चुनावमा देउवाले २८ हजार ४ सय ४६ मत पाउँदा माओवादीका खगराज भट्टले २१ हजार ४ सय ९८ मत पाएका थिए ।

यसपटक माओवादी, एकीकृत समाजवादीको भोट जोड्दा सहज जीत हासिल गर्न सकिने देउवाको आत्मविश्वास रहेको छ । भर्खरै भएको स्थानीय तह निर्वाचनमा डडेल्धुरामा कांग्रेस पहिलो र माओवादी दोस्रो दल बनेका छन् । 

डडेल्धुरामा ९१ हजार २ सय १ जना मतदाता छन् । जसमा महिलाको संख्या ४५ हजार ८ सय ९ र पुरुषको संख्या ४५ हजार ३ सय ९२ रहेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo