दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले आफ्नो एक इन्च जमिन कसैलाई नछाड्ने बताएका छन् ।दार्चुलाको सदरमुकाम खलंगामा चुनावी अभियानको पहिलो कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने- ‘नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छाड्नेवाला छैन । हामी एक इन्च जमिन पनि मिचिन दिनेवाला छैनौं, मिचिएको भए फिर्ता ल्याउँछ । हामीले नक्सा जारी गरेका छौं, संसद्ले सर्वसम्मतीले पारित गरेको छ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौं ।’
तिंकर भञ्याङको बाटो निर्माणमा भारतले बेकारको झमेला निकालेको भन्दै उनले सीमाको विषयमा सानो चित्त नगर्न आग्रह गरे । भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको उनले बताए ।
भारत भ्रमणमा जाँदा भारत भ्रमणमा जाँदा दिल्ली र उत्ताराखण्डको सहमतिमा झोलुङ्गे पुल बनाएको उनको दाबी छ । । सभालाई सम्बोधन गर्दै उनले दार्चुला र धार्चुलामा पक्की पुल बनाउने उद्घोष गरे ।
एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार सुरु गरेको हो । चुनावी प्रचार अभियानको सुरु गर्न ओली शुक्रबार दार्चुला आएका हुन् ।
