डडेल्धुरा : डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा वि.सं. २००३ जेठ ३१ मा जन्मनुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन् ।
विद्यार्थी जीवनबाटै राजनीति सुरु गर्नुभएका देउवा लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक राजनीतिक बन्दी जीवन बिताए । वि.सं. २०२२ मा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभयो । नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बन्न सफल हुनुुभयो । विद्यार्थी राजनीतिमै देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर राष्ट्रिय राजनीतिमा ल्याउन उनलाई बाटो तय गरिदिए ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी त्यस यताका सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन् ।
उनी प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट नै छैटौँ पटक निर्वाचित भएका थिए । विसं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराबाटै प्रतिनिधि सभामा चुनावी मैदानमा छन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर देउवा लन्डन स्कुल अफ इकोनोमिक्सको फेलोसमेत हुनुहुन्छ । कानुनमा स्नातक उहाँले भारतको जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू)बाट मानार्थ विद्यावारिधि (पीएचडी) प्राप्त गर्नुभएको छ ।
प्रारम्भिक शिक्षा हासिल डडेल्धुरा र डोटीका बिद्यालयबाट गर्नुभएका देउवा एलएलसी दिएपछि उच्च शिक्षाका लागि वि.सं. २०२१ मा काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो । त्यसपछि उहाँ नेविसङ्घभित्र राजनीतिमा सक्रिय हुनुभयो । पञ्चायती व्यवस्थाका पक्षधरबाट पटक–पटक पक्राउ पर्नुभयो ।
वि.सं. २०४८ मा जनप्रतिनिधि भएर काठमाडौँ पसेपछिकोे राजनीतिक यात्रामा देउवाका केहि विफलता तर केहि सफलता हात लागे । काँग्रेसभित्रको बढ्दो सत्ता सङ्घर्षमा अलग पार्टी निर्माण गर्न पुग्नुभयो । त्यसअघि नै देशमा नेकपा माओवादीले अगाडि बढाएको सशस्त्र विद्रोह (जनयुद्ध)ले सरकार कमजोर हुँदै जाँदा तत्कालीन राजा र शाही सेनाको असहयोग पनि बढ्दै गएको थियो ।
यता एमालेले ५७ दिनसम्मको संसद् घेराउ गरेर निर्वाचित जनप्रतिनिधिहरूको संस्था प्रतिनिधि सभा चल्न दिएन । यस्तो अवस्थामा काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो । त्यसपछि काँग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुनः काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभयो । संसद्मा पार्टीको बहुमत भएकाले उहाँ दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । पछि तत्कालीन राजाबाट उहाँ सत्ताच्युत हुनुप-यो ।
राजनीतिक घटना सँगसँगै वि.सं. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘शाही कु’मार्फत देउवालाई दोस्रो पटक हटाइदिएर सत्ता आफ्नो हातमा लिनुभएको थियो । नेपाली काँग्रेसको राजनीतिमा पाँच दशकपछि वि.सं. २०७२ को १३औँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली काँग्रेसको पार्टी सभापतिमा विजयी हुनुभयो ।
उहाँ सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभयो भने सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष पनि हुनुभयो । देउवाका एक छोरा जयवीर र श्रीमती डा. आरजु राणा देउवा हुनुहुन्छ । डा. राणा काँग्रेसको राजनीतिमै सक्रिय हुनुहुन्छ ।
यसअघि विसं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी भएका थिए ।
उनी विसं २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । सिं २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो ।
त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री भएका छन् । २०७४ सालको निर्वाचन देउवालाई पाँच वर्ष प्रतिपक्षको जनादेश हुँदाहुँदै पनि प्रधानमन्त्री पद प्राप्त गरे । उता पार्टीको १४औँ महाधिवेशनमा बलियो रुप विपक्षमा हुँदापनि पार्टीको सभापति बन्न सफल भए । कतिपयले देउवालाई भाग्यमानी नेता पनि भन्ने गर्छन् ।
आगामी मङ्सिर ४ गतेको निर्वाचनमा पनि देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । यसपटक पनि देउवाले जित निकाल्ने सहजै अनुमान गरेका छन् । देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभा क मा गठबन्धनबाटै चुनाव लड्दै छन् ।
डडेल्धुराबाट प्रतिनिधि सभामा देउवाविरुद्व कांग्रेसका पुर्वजिल्ला सभापति कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनावी मैदानमा रहेका छन् ।

