KhabarUjyalo

गोरखा–२ बाट प्रचण्डको उम्मेदवारीलाई स्वागत गर्दै बाबुरामले दिए विजयको शुभकामना !

२२ आश्विन २०७९, शनिबार
गोरखा–२ बाट प्रचण्डको उम्मेदवारीलाई स्वागत गर्दै बाबुरामले दिए विजयको शुभकामना !

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गोरखा–२ बाटको उम्मेदवारीलाई स्वागत गर्दै शानदार विजयको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

४ मंसिरमा हुने निर्वाचनका लागि प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट भोलि आइतबार उम्मेदवारी दर्ता गर्दैछन् । प्रचण्डलाई  क्षेत्र–२ बाट उठाउने निर्णय माओवादी केन्द्रले शुक्रबार गरेको थियो । यसअघि प्रचण्ड चितवन–३ बाट संसद्मा प्रतिनिधित्व गरेका थिए ।

गोरखा–२ बाट पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले लगातार ३ पटकसम्म चुनाव जित्दै आएका थिए । डा.भट्टराईले शुक्रबार आफू र प्रचण्डको फोटो ट्वीटरमा राखेर लेखेका छन्, ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क.पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्त्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना ।’

डा.भट्टराई र प्रचण्ड दुई दशक बढी एउटै पार्टीमा रहेर राजनीति गरेका थिए । पुनः एउटै पार्टीबाट राजनीति गर्ने सम्भावना बलियो हुँदै गएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo