KhabarUjyalo

१० बुँदे सहमतिमा माधव नेपाललाई अध्यक्ष बनाउने सहमति भएको भिम रावलको खुलासा

१४ कार्तिक २०७८, आईतवार
१० बुँदे सहमतिमा माधव नेपाललाई अध्यक्ष बनाउने सहमति भएको भिम रावलको खुलासा

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले १० बुँदे सहमति गर्दा दुईजना अध्यक्ष राख्ने सहमतिसमेत भएको दाबी गरेका छन् । तर, सहमतिको लिखित मस्यौदामा भने त्यसबारे केही उल्लेख गरिएको थिएन ।

१० बुँदेको कार्यान्वयन गर्न बनेको कार्यदल संयोजकबाट आइतबार लिखित राजीनामा दिँदै रावलले माधवकुमार नेपाललाई एमालेको अर्को अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् ।

‘दस बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्नको लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो,’ रावलको दावी छ, ‘यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास वालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’

रावलले पत्रमा हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयन नभएको उल्लेख गरेका छन् । ‘हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा अपानी-१२ को कार्यान्वयन भएको छैन्,’ उनको भनाइ छ, ‘एक नम्बर प्रदेशका ताप्जेजुङ, सुनसरी, दुई नम्बर प्रदेशका सर्लाही र बारा, वागमती प्रदेशका चितवन तथा काठमाडौं महानगरपालिका अन्तर्गत कीर्तिपुर नगर कमिटी लगायतका स्थान, नेपाल उत्पीडित जातीय मुक्ति समाज लगायतका जनसंगठनहरूमा अपानी-१२ को कार्यान्वयनमा समस्या उत्पन्न भएको भनी कहींबाट मौखिक र कहीँबाट लिखित गुनासा प्राप्त भएका छन् ।’

१० बुँदे सहमति कार्यान्वयनमा पार्टी अध्यक्षबाट नै अनिच्छा व्यक्त भएपछि कार्यदलमा रहिरहनुको औचित्य नदेखिने भएकाले कार्यदलबाट राजीनामा दिएको उनको भनाइ छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo