KhabarUjyalo

रामचन्द्र पौडेललाई जथाभावी नबोल्न सभापति शेरबहादुर देउवाको चेतावनी

९ कार्तिक २०७८, मंगलवार
रामचन्द्र पौडेललाई जथाभावी नबोल्न सभापति शेरबहादुर देउवाको चेतावनी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई जथाभावी नबोल्न चेतावनी दिएका छन्

महाधिवेशनको नयाँ कार्यतालिका तयार गर्ने विषयमा सोमबार बसेको शीर्ष नेताको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् ।

बैठकमा देउवाले वरिष्ठ नेता पौडेलमाथि आक्रोश व्यक्त गरेका थिए । ‘तपाईं जथाभावी किन बोल्दै हिँड्नुहुन्छ ? मैले कहाँ महाधिवेशन नगरौं भनेको छु ? तपाईं जे पायो त्यही बोल्नुहुन्छ,’ देउवाको भनाइ थियो ।

प्रतिवाद गर्दै पौडेलले समयमा महाधिवेशन किन भएरन भनेर प्रश्न उठाएका थिए । ‘महाधिवेशन त समयमै गर्नु पर्‍यो नि । विधान त मान्नु पर्‍यो नि । तपाईं त्यस्तै चरित्र देखाउनुहुन्छ,’ पौडेलको जवाफ थियो ।

पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा सभापतिले महाधिवेशन गर्न नचाहेको र चुनावपछि मात्रै महाधिवेशन गर्ने गरी सार्न चाहेको अभिव्यक्ति दिएका थिए ।

बैठकमा निर्वाचन समितिका पदाधिकारीले नेताहरुका कारण महाधिवेशनको प्रक्रियाअघि बढाउन ढिलाइ भएको गुनासो गरेका थिए ।

‘तपाईंहरुले नरोकेको भए जिल्ला तहसम्मको अधिवेशन भइसक्थ्यो । तपाईंहरुकै कारण अधिवेशन रोकियो । लामो समयसम्म यो रहिरहृयो भने यसले राम्रो सन्देश दिँदैन,’ समितिले भनेको थियो ।

बैठकपछि सहमहामन्त्री महतले महाधिवेशनको कार्यतालिका तोकेर प्रक्रिया अघि बढाउन आवश्यक गृहकार्य गर्ने जिम्मा निर्वाचन समितिलाई दिइएको बताए ।

मंसिरभित्र केन्द्रीय महाधिवेशन हुने गरी नयाँ कार्यतालिकाका लागि ल्याउन देउवाको निर्देशन थियो । त्यो विषयमा सबैको साझा सहमति बनेको महतको भनाइ छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo