KhabarUjyalo

प्रसिद्ध गन्यापको ‘शिखर जाँत’ भोलि राती लाग्दै !

९ आश्विन २०८०, मंगलवार
प्रसिद्ध गन्यापको ‘शिखर जाँत’ भोलि राती लाग्दै !

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ को महाभारत वनक्षेत्रको घनाजंगलमा लाग्ने यस क्षेत्रकै प्रसिद्ध लाटागन्यापको ‘शिखर जाँत’ असोज १० गते (बुधबार) राति हुँदै छ।

प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ। तर, यस वर्ष भने ‘मालामास’ का कारण असोजमा लाग्दैछ। धार्मिक शिखर जाँतको आफ्नै महत्व र गौरव छ ।
मेला भर्नको लागि जाने दर्शनार्थीहरुले एक साता अगाडी देखि नै शुद्ध खानेकुरा खाने गर्दछन्। यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भै चोखो मनले मागेको वरदान पुरा हुने धार्मिक विश्वास रहेको छ ।

शिखरको गात ‘ठूलो ढुङ्गा’ सम्म पुग्नु भन्दा अगाडी विभिन्न ठाउँ–ठाउँमा दुध ढाल्नेमा दुध, अगरबत्ति तथा फूलपाती चढाएर पुजाआजा गरेर जाने विशेष परम्परा रहेको छ ।

शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन । गन्यापधुरा गाउँपालिका स्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानडुङ्ग्रीसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ । देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरुमा दाइन दमाहा तथा भोक्करहरु ‘ठोकाइन’ बजाएर जाने गरिन्छ । दमाहा पनि लाटागन्याप देवताबाट विशेष अधिकार प्राप्त दमाइहरुले मात्रै बजाउने गरेका जानकार बताउन छन् ।

गन्याप मन्दिरको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ । कसैको छोरा नभएमा त्यहाँ गएर पूजापाठ गरे छोरा प्रदान हुने जनविश्वास छ ।

गन्यापका पुजारीका अनुसार बानणुग्री सैनका कुनै पनि बलायरको छोरा थिएनन् त्यहाँ गएर पूजापाठ गर्दा छोरा भएको इतिहास अहिले पनि छ । अहिले पनि ‘क्यारु पुसाई अपुती रैगई कोल’ भन्ने टुक्का त्यस क्षेत्रका स्थानीयले खेल खेल्ने बेला पनि गाउने गरेका छन्।

मेला भर्नको लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरुबाट भक्तजनहरु आउने गरेका छन् । जाँतमा गाइने देउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेका छन् ।

महाभारत वनक्षत्रको घनाजङ्गलमा रहेको शिखर धार्मिक, पर्यटकीय र रमणीय रुपमा प्रसिद्ध रहेको छ । यो क्षेत्रलाई ‘कान्छो खप्तड’ भनरे पनि चिनिन्छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo